जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १०:११

कांग्रेसका शिर्ष नेतृत्वविच बोलचाल बन्द रहेको नेता शेखर कोइरालाको खुलासा


काठमाडौं ।

नेपाली कांग्रेसको अनुशासन समितिले नेतृत्वविरुद्ध बोल्ने नेता कार्यकर्तालाई कारवाही गर्नु भनेर पठाएको पत्रमा कोइराला खेमाले विरोध जनाएको छ । नेता डा. शेखर कोइरालाले नेतृत्वविरुद्ध बोल्नै नपाउने लोकतन्त्र कस्तो हुन्छ भनि प्रश्न गर्नुभएको छ ।

नेपाली कांग्रेस चितवन(काठमाडौं सम्पर्क समितीले राजधानी काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्नुहुदै नेता कोइरालाले पार्टी भित्र यो कस्तो लोकतन्त्र हो भनि प्रश्न उठाउनु भएको हो । ‘मिडिया काउन्सिलको विरोध हामी गरिरहेका छौं, प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका छौं, तर, जागरण अभियानमा एक अर्काको विरुद्ध पनि बोल्न नपाउने हो भने यो कस्तो लोकतन्त्रमा हामी बाचिरहेका छौं’, उहाको प्रश्न थियो ।

विगतको नेतृत्वबाट पाठ सिक्न पनि नेता कोइरालाले सभापति देउवालाई सुझाव दिनुभयो । कांग्रेसको स्थापना कालदेखी नेतृत्वले राजनीतिक र नैतिक सस्कार सिकाएको उल्लेख गर्दै भन्ुभयो, ‘अहिले त न राजनीतिक संस्कार छ, न त नैतिकतामा खरो उत्रिन सकेका छौं, जवसम्म नैतिकतामा खरो उत्रिन सक्दैनौ तब सम्म हामी कमजोर नै रहने छौं ।’ उहाले नेतृत्वको आलोचना गर्न सबैले पाउनुपर्ने जिकिर गर्नुभयो । ‘हामी विपीका अनुयायी हौं, विपीले एक पटक एक पत्रकारलाई बोलाएर भन्नुभएछ, मेरो विरुद्धमा लेख । तर अहिलेको नेतृत्व लेख त के बोल्यो भनेपनि कारवाही गर भन्छ’, उहाको भनाई थियो ।

नेता कोइरालाले संगठन विनाको जागरण अभियानले कुनै उपलब्धी नदिने समेत उद्घोष गर्नुभयो । ‘कुनै गाउपालिकामा संगठन छैन, वडामा छैन, नेविसंघ नेतृत्व विहिन भएको दुई तीन महिना भईसक्यो, के का लागि जागरण अभियान गर्ने’, उहाले अगाडी भन्नुभयो,‘गाँउपालिकाको अध्यक्ष नै छैन, कुनै संगठनमा नेतृत्व नै छैन, पार्टीका नेतृत्वलाई कुनै चिन्ता छैन ।’ उहाले कांग्रेसको नेतृत्वमा समेत बोलचाल बन्द भएको जानकारी समेत गराउनु भयो । ‘वास्तवमा पार्टीका शिर्षतहका नेतामा बोलचाल छैन, यस्तो अवस्था सुल्झाउन सकेनौं भने कांग्रेसका लागि गम्भिर छ’, उहाले भन्नुभयो । कांग्रेसको सुधार भनेकै १४ औं महाधिवेशन बाहेक अन्य नरहेको भन्दै तर्थदवादमा जान थाल्यौ भने कांग्रेसलाई घाटा हुने उल्लेख गर्नुभयो ।