जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १०:२३

मुख्यमन्त्री पोखरेलको उदाहरणीय काम : सार्वजनिक गाडी चढेर बुटवलबाट पुग्नु भो लुम्बिनी


बुटवल ।

मुख्यमन्त्री भन्ने वित्तिकै दुई तीन वटा गाडी अगाडी पछाडी, सुरक्षाकर्मीले घेरिएको भन्ने बुझ्छौं । तर, शनिवार विहान एक सार्वजनिक बसमा चिरपरिचित अनुहार भेटियो । उनि सर्वसाधारण जस्तै बसको ढोका छेउमा रहेको सिटमा बसेर यात्रा गरिरहेका थिए । अर्को सिटमा उनका अंगरक्षक बसेका थिए । ति थिए, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल ।

लुम्बिनी भ्रमण वर्षलाई लक्षित गरी शुरु गरिएको बससेवाको उद्घाटन गरेर उहा सोही बसबाट लुम्बिनी पुग्नु भएकोहो । रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुग्नु भएको छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बस बुटवल लुम्बिनी चल्नेछन् । ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको हो । बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ ।