जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ०९:३७

भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला, सहमत भयो सेना


भक्तपुर, जेठ ५

भक्तपुर नगरपालिका–१, सल्लाघारीमा नेपाली सेनाको ब्यारेकपरिसरमा रहेको ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन् । लामो समयको छलफलपछि नेपाली सेना रानीपोखरी सर्वसाधारणका लागि खुला गर्न सहमत भएको हो । पोखरीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई दर्शाउँदै नगरपालिकाले नेपाली सेनालाई सर्वसाधारणका लागि प्रवेश खुला गर्न अनुरोध गर्दै आएको थियो ।

नगरप्रमुख सुनील प्रजापतिले सेनाले पोखरीको क्षेत्र ब्यारेकबाट छुटाएर पुनर्निर्माण गर्न र सर्वसाधारणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न पाउने सहमति दिएको बताउनु भयो । देशकै जेठो रानीपोखरी जीर्णोद्धार र खेलमैदान खुला गर्ने विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भएको छलफलपछि सेनाले सहमति दिएको प्रजापतिले जानकारी दिनुभयो ।

वडा नम्बर १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार नगरपालिका र सेनाबीच पटक–पटक छलफल भएपछि खेलमैदानमा सर्वसाधारणले समेत बिहान ६ बाट १० बजेसम्म खेल्न पाउने सहमति भएको छ । सैनिक महाविद्यालय बन्द रहँदा र आवासीय विद्यार्थीहरू बिदामा रहेका वेला बिहान ६ देखि साँझ ५ बजेसम्म खेलमैदान स्थानीयका लागि खुला गरिनेछ ।

‘पोखरीको नाप, नक्सा तयार गर्ने र पोखरीको जीर्णोद्धार गर्ने सहमति भएको छ,’ नगर प्रमुख प्रजापतिले भन्नुभयो, ‘पोखरी पुनर्निर्माणपछि सर्वसाधारणले पनि दृश्य अवलोकन गर्न पाउनेछन् ।’ सुरक्षा सतर्कतालाई ध्यानमा राखी पोखरीपरिसरमा सिसिटिभी राखिने भएको छ ।

मौलिक शैलीमै जीर्णोद्धार 

सेनाको सुरक्षा घेराभित्र रहेको पोखरी खुला गर्ने सहमति भएपछि अब मौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी अघि बढेको छ । नगरपालिकाले नक्सा तयार गरी लागत स्टिमेटको प्रक्रिया अघि बढाएको छ । ऐतिहासिक तथा धार्मिक सांस्कृतिक महत्वको रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी रहेको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो यो पोखरी भक्तपुरका राजा जगज्योति मल्लले नेपाल संवत् ७५० अर्थात् १६८७ सालमै निर्माण गरेका थिए ।