जनता टाइम्स

२२ चैत्र २०७६, शनिबार १७:५८

लकडाउन तोडदै नदी तरेर नेपाल छिरेका पुरुषमा देखियो कोरोना


काठमाडौं, चैत २२

लकडाउनको उल्लघंन गरी नदी तरेर नेपाल प्रवेश गरेका पुरुषमा कोरोना देखिएको पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका कञ्चनपुरका ४१ वर्षिया पुरुष भारतको लुहाघाटबाट ११ जनाको समूहमा नेपाल भित्रिएको प्रहरीले जानकारी दिएको छ ।

सीमा बन्द गरिएपछि उनीहरु चैत १४ गते खल्ला मसेट्टी क्षेत्रबाट ट्युबबाट महाकाली तरेर नेपाल प्रवेश गरेको खुलेको हो । खल्ला मसेट्टीबाट उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइ गड्डाचौकीस्थित हेल्थ डेस्कमा चेकजाँच गराएर बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित कृषि पाइलट फर्ममा क्वारेन्टाइनमा राखिएको थियो । उनिहरु सोही दिनदेखी नै क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमति ४१ वर्षिय व्यक्ति र अन्य सबैजना बेदकोट नगरपालिका क्षेत्रकै हुन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपालमा लकडाउन सुरु भएयता दोधारा चाँदनी, गड्डाचौकी र ब्रहृमदेव क्षेत्रबाट ३ हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्किएको बताइन्छ । अधिकांशले ट्युबबाट महाकाली तरेर वा पैदलै हिँडेर अवैध बाटोको प्रयोग गरेको प्रशासन स्रोतले बताएको छ ।