जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार १२:१८

कोरोना संक्रमित ६५ वर्षिया वृद्धा भन्नुहुन्छ : ‘मेरो त आत्मबल नै कडा छ, कोरोनालाई जितेर घर फर्कन्छु’


काठमाडौं, चैत २३

म फागुनको १४ गते कान्छी छोरी भेट्न बेल्जियम पुगे । लामो समयपछि छोरीलाई भेट्दा निक्कै खुशी थिए । करिव एक महिना बेल्जियम बस्न भनेर म नेपालबाट गएको थियो । छोरी पनि आमा आउनु भएको भनेर निक्कै खुशी थिइ । तर, समय नै अलिक कस्तो कस्तो परिदियो । बेल्जियम आएको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेको समाचारहरु आउन थाले ।

अब के हुने हो कस्तो अवस्था आउने हो भनेर चिन्ताले सताउन थाल्यो । धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर नेपाल फर्किने सोच बनाए । तत्कालै नेपाल फर्किने निर्णय गरेर टिकट पनि छोरीले काटिदिइन् । चैत ३ गते म बेल्जियमबाट नेपालतर्फ लागे । विमानस्थलमा छोरी विदाई गर्न आएकी थिइ । चैत ४ गते काठमाण्डू उत्रिएपछि मलाई ज्वाईँ लिन एअरपोर्टमा पुग्नु भएको थियो । काठमाडौंबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म आइपुगे । आएको दिन छोरीको घरमा बसे । अर्को दिन घरमा पुगे । घरमा बस्दा गाउँका केही मानिस र बालबालिका भेट्न घरमा आएका थिए । उनीहरूलाई चकलेट पनि बाँडे ।

मलाई कोरोनाको संकेत गर्ने रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन । मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन । 

कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आए, तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको पत्तो नै भएन । गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट देखिएपछि मलाई पत्यार नै लागेन । म करिव २०–२२ वर्षदेखि दमको रोगी समेत हु । मसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि मेरो पनि स्वाब परीक्षण गरिएको थियो । त्यसबेलासम्म सङ्क्रमणको कुनै लक्षण समेत थिएन । तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचार गरिरहेकी छु ।

मलाई कोरोनाको संकेत गर्ने रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन । मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन । पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भएको जस्तो अनुभव छ । अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन । मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन । आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ । आत्तिएर हुँदैन । मलाई अहिले पनि रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै समस्या देखिएको छैन ।

आफन्तहरूसँग फोनमा धेरै बेर कुरा समेत गर्छु । मान्छेहरु बढी डराए, डराउनु पर्दैन, शङ्का लागेमा चेकजाँच गर्नुपर्छ । ठीक हुन्छ । मलाई लिन आउने एम्बुलेन्स चालक भागेको कुरा आफुलाई पनि पछि थाहा भयो । मलाई कोरोनाभाइरस लागेको थाहा नै थिएन । न यो रोग लाग्नुमा मेरो कुनै गल्ती छ । गाउँभरि मान्छेहरू पनि सर्छ कि भनेर डराएका छन् । यस्तो बेलामा सबैको साथ सहयोग चाहिने हो, यस्तो खबरले दुःखी भने बनायो । सँगै बसेका मानिसहरूलाई पनि परीक्षण गर्दा नसरेको रिपोर्ट आएकाले पनि त्यति आत्तिनु पर्ने अवस्था छैन ।

(कुराकानीमा आधारित)