जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ११:०७

सरकारको विरोध गर्नेहरु पछि माफी माग्दै आए


काठमाडौं, चैत २४

कोरोनाभाइरसको महामारी चीनको वुहानमा फैलिदै थियो । सो संक्रमण त्यहा भन्दा अन्यत्र देखिएको थिएन वा पत्ता लागेको थिएन । त्यसबखत त्यहा रहेका नेपालीले घर फर्किने इच्छा व्यक्त गरे ।

वुहानमा लकडाउन गरिएकाले उनिहरुले आफुहरु यहाँ सुरक्षित नरहेको भन्दै उद्धारका लागि पहल गरे । सरकारले तत्काल उद्धार गरेन । बरु दीर्घकालिन रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने सोच बनायो । किनकी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले यो संक्रमण नेपालमा नफैलियोस् भनेर मानवियताका आधारमा हैन सरकारले विवेकपूर्ण आधारमा निर्णय लियो । मानवताका आधारमा निर्णय लिदा तत्कालै वाहीवाही पाएपनि दीर्घकालिन रुपमा त्यसको असर सबै जनतामा पर्ने भएकाले सरकार वहकाउमा लागेन् ।

वुहानबाट विदेशी राष्ट्रहरूले विभिन्न प्रयोजनका लागि वुहान पुगेका आफ्ना नागरिकलाई फिर्ता लगे । नेपाल सरकारले पनि वुहानमा भएका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय गर्‍यो । अध्ययनका लागि वुहान पुगेका १ सय ८० जना नागरिक उद्धार गरेर विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम कहाँ, कसरी क्वारेन्टाइन गर्ने भन्ने विषयमा धेरै छलफल भयो ।

क्वारेन्टाइन निर्माणका लागि काठमाडौं उपत्यकाकै विभिन्न ठाउँको नाम आयो । सबै ठाँउमा विरोध गरे । सायद विपक्षी वा आफ्नै पार्टीमा रहेका विपक्षी जस्ता नेताहरुको बहकाउमा नाम आएपछि सबै क्षेत्रमा विरोध हुन थाल्यो । शुरुमा उद्धार गरेन भनेर सरकारको आलोचना गर्नेहरु फेरी उद्धार गरेर यहा ल्याउन नहुने बताउन थाले । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु भएकाले आफ्नै जिल्लामा राख्न लागेको प्रष्टिकरण समेत दिनुभयो ।

अन्य स्थानको नाम आए पनि सरकारले चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रलाई छनोट गर्‍यो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्युत् प्राधिकरण तालिम केन्द्रका कर्मचारी, सहरी विकासलगायतले चारवटा भवन क्षेत्रलाई जस्तापाताले घेरा हालेर एक सातामै क्वारेन्टाइन तयार गरियो । क्वारेन्टाइनमा बस्नेहरूलाई साबुन, सेनिटाइजरदेखि चाहिने सामग्री जुटाइयो ।

स्थानीय बासिन्दा र स्थानीय तहका जनप्रतिनिधिको चर्को विरोधकै बाबजुद केन्द्रमा क्वारेन्टाइन बन्यो । यतिसम्म प्रचार भयो की त्यहाका बासिन्दा घर छाडेर आफन्तको घरमा बस्न गए भनेर सम्म प्रमुख संचारमाध्यमका हेडलाइन बने । तर, स्थानीयले आफुहरु खेतको काम गर्न जाँदा पनि नानाथरी लान्छना लगाएको भन्दै समाचारदातालाई गाँउमै नआउन समेत आग्रह गरे । मिडियामा नानाथरी समाचार आउन थालेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा सुरक्षा निकायका व्यक्तिले घरघरमा पुगेर सचेतना कार्यक्रम नै संचालन गर्यो । गत फागुन ४ मा चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना नागरिकलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखियो । दुईपल्ट घाँटीको र्‍याल र ‘नेजल स्वाब’ परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि १७ दिनमा उनीहरूलाई घर पठाइयो ।

क्वारेन्टाइन बनाउँदा विरोध गर्ने स्थानीय बासिन्दा, जनप्रतिनिधिलगायतले पछि माफी मागे । क्वारेन्टाइनमा बसेकाले सरकार र व्यवस्थापनमा खटिएका सुरक्षा अधिकारीको खुलेर प्रशंसा गरे । खुसीको नारा लगाए । क्वारेन्टाइनको व्यवस्थापनमा खट्ने सुरक्षा अधिकारी, चिकित्सक टोलीलगायतलाई उनीहरूले सम्मान गरे ।

कस्तो छ र त्यो क्वारेन्टाइन जसको अहिले प्रशंसा हुदैछ ?

क्वारेन्टाइन व्यवस्थापनको नेतृत्व वीर दल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले सम्हाल्नु भएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्वारेन्टाइनको निगरानी गरिरहेका छन् । प्रमुख सेनानी पौडेलका अनुसार छुट्टाछुट्टै मुलुक र समयमा आएका व्यक्तिलाई छुट्टाछुट्टै भवनमा राखिएको छ । सेनाका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीको ‘कन्ट्रोल रुम’ स्थापना गरिएको छ । ‘कन्ट्रोल रुम’ बाटै क्वारेन्टाइनमा बसेकाको निगरानी गर्ने गरिएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई प्राधिकरणको क्यान्टिनबाट सेनाले खाना प्याकिङ गरेर प्रत्येक दिन बिहान नास्ता, खाना, दिउँसो खाजा, साँझ खाना र बोतलको पानी दिने गरेको छ । इन्टरनेटको व्यवस्था छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइन व्यवस्थापन गरिएको सेनाले जनाएको छ । ‘खाना क्यान्टिनबाट प्याकिङ गरेर पठाइन्छ, खाना लैजाने र भित्र बसेका व्यक्तिको प्रत्यक्ष भेट हुँदैन,’ पौडेलले भने, ‘छुट्टाछुट्टै भवनको आआफ्नै फुड ड्रपिङ प्वाइन्ट छ, त्यहीँ लगेर राखिदिन्छौं र कन्ट्रोल रुमबाट माइकिङ गर्छौं । त्यहीँबाट स्वयंसेवकले खाना कोठाको नजिक लगेर राखिदिने र उनीहरूले आफैं लिने व्यवस्था छ ।’

उनीहरूका लुगा धुन लन्ड्री र तातोपानीका लागि गिजरको सुविधा छ । फोहोर र क्वारेन्टाइनको ढल छुट्टै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूले आफ्नो कोठा आफैं सफा गर्छन् । उनीहरूले फोहोर तोकिएका ठाउँमा राखिदिन्छन् । कन्ट्रोल रुमबाट व्यक्तिगत कोठाबाहेकको क्वारेन्टाइन क्षेत्रमा सीसी क्यामरामार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सकसहित चार जनाको मेडिकल टिम सधैं तयारी अवस्थामा बसेका छन् ।