जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार ०८:२७

पोलिटब्युरो सूची बाहिरिएपछि बढ्यो दवाव : तनावमा प्रचण्ड, राजेन्द्र-ठाकुर समेटन ओलीमाथि दवाव


काठमाडौं, जेठ ६

पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजनसहित एकताको बाँकी काम टुंगो लगाउन आइतवार बोलाईको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक एकाएक स्थगित भयो । नेताहरुको ब्यस्थताका कारण बैठक मंगलवारसम्म सारिएको बताइयो । यथार्थ भने यो भन्दा बिल्कुलै फरक पाइएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले शीर्ष नेतृत्वमाथि दवाव बढाउँदा नेताहरुनै तनावमा परेर बैठक सारिएको हो । सूची सार्वजनिक भएलगत्तै नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूची सच्याउन दबाब परेको छ । दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको हो ।

पोलिटब्युरो चयनमा पूर्वएमालेमा भन्दा पूर्वमाओवादीमा समस्या पेचिलो बन्दै गएको छ । सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएको भन्दै अध्यक्ष प्रचण्डले आवश्यक गृहकार्यपछि मात्र पूर्वमाओवादीका तर्फबाट अर्को सूची पेस गर्ने भन्दै २ जेठको सचिवालय बैठकमा छलफल गर्न नसकिने बताउनु भएको थियो ।

पूर्वमाओवादीमा सकस

पूूर्वएमालेबाट साबिक पोलिटब्युरोबाहेक पाँचौँ महाधिवेशनयता केन्द्रीय सदस्य भएकाहरूमध्ये ‘सिनियर’लाई बनाउने मापदण्ड बनेपछि खासै समस्या छैन । गणतन्त्रको लागि आन्दोलनका नायक देखिएका राजेन्द्र राई र ठाकुर गैरेलाई पार्नुपर्ने दवाव भने चर्काे परेको छ । तर, पूर्वमाओवादीभित्र भने पछिल्लो ९९ सदस्यीय सचिवालयबाट सूची छान्नुपर्ने भएकाले प्रचण्ड निकै दवावमा पर्नुभएको छ ।

फुटेर गएको बादल समूहपछि एकीकरणमा आएको र नारायणकाजी श्रेष्ठको पनि छुट्टै समूह रहेकाले वरिष्ठताको आधारभन्दा दुवै समूहको सन्तुलन मिलाउनुपर्ने बाध्यता प्रचण्डलाई छ । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ एक सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वएमालेले ८१ र माओवादी समूहले ६६ जनाको भागबन्डा गरिसकेका छन् ।

पूर्वएमालेभित्र पनि केही युवा नेताहरूलाई नियतवश छुटाइएको आरोप खेप्नुपर्दा नेतृत्व उनीहरूलाई समेट्नुपर्ने दबाबमा छ । पूर्वएमालेका तर्फबाट प्रस्तावित सूचीमा वरिष्ठ नेता नेपालले राजेन्द्र राई र ठाकुर गैरेको नाममा अडान लिनुभएको छ । वरिष्ठ नेता नेपाल, सचिवालय सदस्यहरू रामबहादुर थापा र विष्णु पौडेलसमेत बसेर अध्यक्ष ओली र प्रचण्डले पोलिटब्युरोको सूची गृहकार्य गर्नुभएको थियो ।