जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १८:१८

मिडिया काउन्सिल विधेयक पुनर्विचार हुन्छ – नेकपा नेता रावल


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले मिडिया काउन्सिल विधेयकबारे सञ्चार क्षेत्रबाट उठाइएका दण्डसजायलगायत विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा सोमवार राजधानीमा आयोजित साक्षात्कारमा उहाले भन्नुभयो, ‘संवैधानिक व्यवस्थालाई बलियो बनाउन यसमा गहन छलफल र विचार पुर्‍याउनुपर्छ, हामीले निर्माण गर्न चाहेको सभ्य समाजभित्र नागरिक, मानवअधिकार र सञ्चारकर्मीका अधिकार पनि अक्षुण्ण रुपमा संरक्षण होऊन् भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।’

उहाले लोकतन्त्रमा नागरिकसँगै प्रेसका अधिकार कुण्ठित गर्ने प्रश्नै नआउने पनि स्पष्ट पार्नुभयो । ‘हामीले निकै ठूलो सङ्घर्षबाट ल्याएको यो व्यवस्थामा नागरिकका अधिकार संरक्षित हुनुपर्छ, यसमा पनि समाजलाई निरन्तर चेतना र उज्यालो दिशातर्फ जागृत तुल्याउँदै आएको पत्रकार जगत्का अधिकार कुण्ठित गर्ने प्रश्नै उठ्दैन’, नेता रावलले भन्नुभयो । सञ्चारमाध्यमले पनि जिम्मेवार हुनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाले भन्नुभयो, ‘लोकतन्त्र र सञ्चारजगत्‌बीच पारस्परिक सम्बन्ध रहेको हुँदा यसलाई चर्काएर होइन, पारस्परिक सरसल्लाहका आधारमा उठेका विषयमा समाधान खोजिनुपर्छ ।