जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १८:३०

गणतन्त्र ल्याउन एक थोपा भूमिका नभएकाहरु अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन : प्रधानमन्त्री ओली


धादिङ, जेठ ६

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने घोषणा गर्नुभएको छ । धादिङको गल्छीमा आज मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने घोषणा गर्नुभएको हो ।

‘एक वर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस, कति फरक हुन्छ, यही हुन्छ भनेर छटपटी भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको बिभिन्न तथ्य पनि राख्नुभयो ।

प्रधानमन्त्री ओलीले गणतन्त्रको विरोधीहरुले नै बर्तमान सरकारको बिरोध गरिरहेको ठोकुवा गर्नुभयो । उहाँले गणतन्त्रबिरोधीहरुले नै अहिले बिकासको काम गर्दा आफूहरुलाई लोकतन्त्र सिकाइरहेको ठोकुवा गर्नुभयो । ‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको हो ।