जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार २०:५८

सरकार कांग्रेससँग सहकार्य र विकासमा हातेमालो गर्न चाहन्छ : उपप्रम पोखरेल


नुवाकोट, जेठ ६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिनुपर्ने बताउनु भएको छ ।

पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन आज प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा उपप्रधानमन्त्री पोखरेलले किसानलाई सहुलियत दिई स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा समेत जोड दिनुभयो । ‘कोदो र फापर पनि किनेर ल्याउनुपर्ने र खेतबारी बाँझै राख्ने स्थिति रहनुहुँदैन,’ पोखरेलले भन्नुभयो ।

उपप्रम पोखरेलले बिकासमा राजनीति नगर्न पनि सुझाव दिनुभयो । ‘आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा आउने बाटो सबैलाई खुला छ । विचारका आधारमा कोही दण्डित हुनुपर्ने छैन । त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यक्तिहरु लाग्नुपर्छ,’ उपप्रम पोखरेलले भन्नुभयो ।

जनता सुखी भएनन् भने क्रान्तिकारी विचार बोक्नाको कुनै अर्थ नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘जुनसुकै पार्टीमा लागे पनि देशलाई धनी बनाउने र जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ । यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहन्छौँ । विकासनिर्माणमा हातेमालो गर्न चाहन्छौँ । अहिले देशले खोजेको यही हो ।’

उहाँले पासाङ्ल्हामू राजमार्गको दुर्दशा अन्त्यका लागि सार्वजनिक खरीद ऐन परिवर्तन गरेर बेथितिको अन्त्य गरिने जनाउनुभयो । ‘राजनीतिको छाला ओढेर साँढे बनेर हिँडिरहेका केही ठेकेदारहरुले जनतामाथि मनमरी गरिरहेका छन् । यसको संरक्षण हुँदैन । तिनीहरु दण्डित हुँदैछन,’ मन्त्री पोरखरेलले भन्नुभयो ।