जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार ०९:५६

दिल्लीका ११ जिल्ला उच्च जोखिममा, १३२३ जनाको मृत्यु


काठमाडौँ,  वैशाख २१ ।  भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ ।
दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिनुभएको हो ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उहाँले भन्नुभयो । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उहाँले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिनु भएको हो ।

उहाँका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उहाँका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले ्क्रमणमुक्त भइसकेका छन् ।

गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।