जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार ११:०१

चितवनको राप्तीमा विद्यार्थी नियमित गराउन छात्राबास


भरतपुर, जेठ ७

चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्राबास सञ्चालन गरेको छ । नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्राबासको शुरुआत गरेको हो । नगरपालिकाको वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्राबास सञ्चालन गरिएको छ । थाकलटार माविको छात्राबास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ ।

भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित गरी छात्राबास सञ्चालनमा ल्याइएको राप्ती नगरपालिकाका शिक्षा शाखा अधिकृत हुमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले माध्यमिक तहका विद्यार्थी दुई रतीन घण्टा लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेका कारण नियमित विद्यालय आउन नसकेको बताउनुभयो । “शुरुआतमा दुई विद्यालयमा छात्राबास शुरु भएको छ”, अधिकारीले भन्नुभयो, “आवश्यकता र प्रभावकारिताका आधारमा यसलाई थप गर्दै लैजान्छौँ ।”

उहाँले छात्राबासमा सुत्ने, खाना पकाउने ग्यास र भाँडाकुँडाको मात्रै व्यवस्था नगरपालिकाले गरेको बताउनुभयो । खानेकुरा विद्यार्थीले आफैँ घरबाट ल्याउने गरेका छन् । यस्तै राप्ती नगरपालिकाको वडा नं १३ कान्दामा पनि लक्ष्मी प्रतिष्ठानले छात्राबास सञ्चालनमा ल्याएको छ । कान्दामा सबै चेपाङ बालबालिका अध्ययन गर्छन् भने थाकलटार र यौरालीटारमा अधिकांश चेपाङ र जनजाति समुदायका विद्यार्थी अध्ययन गर्छन् ।