जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार २०:५६

नीति तथा कार्यक्रम कार्यान्वयन भए मुलुकले राम्रो गति लिने नेकपा अध्यक्ष प्रचण्डको घोषणा


काठमाडौँ, जेठ २

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन भए मुलुकले राम्रो गति लिने बताउनु भएको छ । उहाले कार्यान्वयनमा चुनौती रहेपनि नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिनु भएको हो ।

संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले नीति तथा कार्यक्रममा आफ्नो समर्थन रहेको बताउनु भयो । कार्यक्रम कार्यान्वयनमा चुनौति रहेको बताउदै भन्नुभयो, ‘चुनौती कार्यान्वयनको छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने मुलुकले राम्रो गति लिन्छ ।’

नेकपाका सांसद जनार्दन शर्माले पनि अहिलेको अवस्थामा नीति कार्यक्रम राम्रो आएको तर कार्यान्वयनमा चुनौति रहेको बताउनु भयो । ‘कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव, त्यसबाट नेपालमा पर्ने प्रभाव अझै कस्तो हुन्छ भन्न सकिँदैन । त्यो प्रभावको समग्र मुल्यांकनपछि यो नीति तथा कार्यक्रमले कस्तो गति लिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ’, नेता शर्माले भन्नुभयो, ‘अहिलेलाई नीति कार्यक्रम हामीले सुन्यौं त्यो राम्रो छ । सबै क्षेत्रलाई समेटेको छ फेरि पनि कार्यान्वयनका चुनौतिहरू हाम्रा अगाडि छन् ।’