जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १३:५९

अवैधानिक रुपले पार्किङ गर्ने १० हजार मोटरसाइकल कारवाहीमा


काठमाडौं, जेठ ७

नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गर्ने गरेको बताउँनुहुन्छ । ‘दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कारवाही गर्दै आएका छौँ’, उहाँले भन्नुभयो । नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर रु एक हजार जरिवाना गर्दै आएको छ ।

नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त कारवाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ ।’ यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौं उपत्यकामा नौ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् ।