जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १४:४७

कोशी अस्पतालका थप आठ जना संक्रमित कोरोनामुक्त


बिराटनगर, जेठ ७ । विराटनगरस्थित कोशी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना भाइरसलाई परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका कोरोना संक्रमित आज कोरोनामुक्त भएका हुन । भुल्के क्षेत्रका तीन जना नेपाली नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान हुनुहुन्छ । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ, गुड्डु आलम र मुस्ताकी आज डिस्चार्ज हुनुभएको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उदयपुरका तीन जना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरूको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीय नागरिकलाई विराटनगरमा र उदयपुरका तीन जना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने छ ।

बिराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसक्नु भएको छ । बुधबार आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ । कोरोनामुक्त भएका सवैले अस्पताल र चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई धन्यवादसहित मुस्कान दिएर बिदा भएका थिए ।