जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १२:३६

बैदेशिक रोजगारीबाट घर फर्केको बीस दिनमै बिप्लव कार्यकर्ता बनेर मारिए भोजपुरका तीर्थराज घिमिरे


भोजपुर, जेठ ८

भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते भएका नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीका कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ ।

मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले घिमिरेमाथि गोली चलाएको थियो । प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउले निवासी विप्लव कार्यकर्ता घिमिरे गम्भिर घाइते भएका थिए । खुट्टामा गोली लागेको घिमिरेलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धरान पठाइएको थियो । मंगलवार साझ पाँच बजे धरान पठाइएको घिमिरेको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको बताएको छ ।

टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट हुँदा दोहोरो फायरिङ भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको भानई छ । उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । दुई दर्जन भन्दा बढीको संख्यामा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । प्रहरी टोली घटास्थलभन्दा तल र विप्लव कार्यकर्ता माथिबाट भएपछि विप्लवका कार्यकर्ताले गोली चलाएको प्रहरीको दावी छ ।

विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुम, दोभानेमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाको आधारमा साल्पा सिलोछोको दोभाने क्षेत्रमा समेत प्रहरीले गस्ती बढाएको थियो ।

रोजगारीको सिलसिलामा बिदेशमा बस्ने घिमिरे आफ्नो गाउँमा पुगेको जम्माजम्मी २० दिन मात्रै भएको युवा संघका नेता रोशन बस्नेतले जनाउनु भएको छ । ‘२० दिनको अन्तरालमानै आफन्तको घर जान्छु भनेर घरबाट हिडेका उनी विप्लव समुहमा लागेर प्रहरीसंगको दोहोरो फायरिङमा एकाएक मृत्युको मुखमा पुगेको समाचारले दुखी बनाएको छ,’ बस्नेतले लेख्नुभएको छ ।