Untitled Document

सप्तरीका गाउँ डुबानमा पर्दा झण्डै १५ सय परिवार जोखिममा

सप्तरी, असार १७ । अविरल वर्षाका कारण सत्तरीका गाउँ डुबानमा पर्दा झण्डै १५ सय परिवार जोखिममा परेका छन् । सत्तरीमा खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेपछि हजारौ परिवार जोखिममा परेका हुन् ।

बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ ।

अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँडा र अन्य सरसामान बगाएको छ । वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन् । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए ।

मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।  यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् ।

स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेक छन् ।  स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेका छन् भने बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ ।

July 1, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *