जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १३:११

उच्च अदालतका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा मुद्धा दर्ता


काठमाडौं ।

उच्च अदालतका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोप लागेका ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।

काभ्रेका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यसविरुद्ध बानियाँ इजलासमा निवेदन लिएर गएका थिए । न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायाधीशविरुद्ध मुद्धा दर्ता गरेको बानियाँले जानकारी दिनुभयो । सो आदेशपछि सर्वोच्च प्रशासनले आज रिट दर्ता गरेको हो । उक्त मुद्दामाथि जेठ ९ गतेलाई पेशी तोकिएको छ।

न्यायाधीश ढकालले पेट्रोलियम पदार्थ कालोबजारी मुद्दामा बदनियत राखी आफूसँग १८ लाख रकम लिएको दाबीसहित बानियाँ न्याय परिषद, सुनुवाइ समिति हुँदै गत साता सर्वोच्च पुगेका थिए। सर्वोच्चले उक्त मुद्दा दुई दिनसम्म हेर्दाहेर्दै राखेर दरपीठ गर्ने निर्णय गरेको थियो । एकै पटक दायर भएको कालोबजारी मुद्दामा एक जना अभियुक्तलाई धरौटी र आफूलाई थुनामा पठाएर १८ लाख रुपैयाँ न्यायाधीशको परिवारलाई बुझाएर रिहा भएको बानियाँले जिकिर गर्दै आएका छन्।