जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १८:०७

राजदूतले कुटनीतिक मर्यादामा बस्नुपर्छ – नेकपा नेता नेपाल


काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदूतहरुलाई कुटनीतिक मर्यादामा बस्न आग्रह गर्नुभएको छ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले ‘जनतासँग गफगाफ’ सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाले कुटनीतिक मर्यादामा बस्न आग्रह गर्नुभएको हो ।

वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कुटनीतिक मर्यादाविपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कुटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कुटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन् त्यसको पालना गर्नैपर्ने पनि उल्लेख गर्नुभयो । सोमबारदेखी कार्यक्रम संचालन गर्ने तयारी गरेको राजदुत बेरीलाई परराष्ट्र मन्त्रालय समेत ध्यानकर्षण गराईसकेको छ ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले पनि कुटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले कुटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई यो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गर्नुभयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।