जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०७:२५

राष्ट्रपति भण्डारीको स्वागतमा सजियो ओखलढुंगा : केही घन्टामै भत्कियो हतारमा गरिएको पिच


ओखलढुंगा, जेठ ९

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतार हतार गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो ।

सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको हो । गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उहाँको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज ओखलढुंगा आउने कार्यक्रम छ । सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ ।

यो रकमले नगरपालिकाले मञ्च र स्वागतद्वार निर्माण तथा ८० पाहुनालाई खानबस्नको व्यवस्था गरेको छ । राष्ट्रपति सेनाको ब्यारेकमा जाने कार्यक्रम भएकोले सिँढी पनि नगरपालिकाकै खर्चमा बनेको छ । तीन दिनभित्र भएको विकास निर्माणको काम देखेर ओखलढुंगा सदरमुकामका बासिन्दा चकित थिए । ‘सडकका खाल्डा आधा घन्टामै पुरिए । सरसफाइ र मर्मतलगायत तमाम काम तीन दिनमै फत्ते भए,’ स्थानीयबासीले भने, ‘विकास हुन त ठूला मान्छेहरू जिल्ला आइरहनुपर्ने रहेछ । तर, यस्तो विकास कसरी दिगो होला ?’

बुधबार साँझको पानीले दिनभर बनाइएको सडकको नयाँ पिच बगाइदियो । सडक जस्ताको तस्तै भएको छ । त्यसो त, सदरमुकामका सडकमा वर्षौँदेखि ठुल्ठूला खाल्डा थिए । ढल व्यवस्थित थिएन । मन्दिर र पार्कहरू फोहोरले कुरूप थिए । तर, राष्ट्रपति आउने भनेपछि रातारात विकासको ‘मूल फुटेको’ थियो ।