जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०७:४२

दोलखाको कालिञ्चोकमा नौ सय रोपनी जग्गा कब्जा गरिएको खुलासा


दोलखा, जेठ ९

कालिन्चोक मन्दिर दर्शनका लागि बनाइएको केवलकार संचालकले विवादस्पद जग्गा अनाधिकृत रुपमा भाडामा लिएर भोगचलन गरिरहेको खुलेको छ । गुठि संस्थानको कार्यालयले दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक पुग्न छोटो दुरीको केवलकार संचालनार्थ व्यापारिक प्रयोजनको लागि ९ सय रोपनी जग्गा कौडीको मुल्यमा अनाधिकृतरुपमा भाडामा लगाएको पाइएको हो ।

कालिञ्चोक दर्शन लिमिटेडले जग्गामा लिएको भाडा गुठि सस्थान वा गौरीशंकर संरक्षण क्षेत्रको कसको भन्ने विवाद चलिरहेको छ । विवाद कायमै रहदा लिमिटेडले वार्षिक १२ हजारमा भाडामा लिएको छ । लिमिटेडलाई भोगचलन गर्न दिएको जग्गा निर्माणअवधि २ वर्षको प्रतिवर्ष १२ हजार रुपैयाँ वहालमा दिएको उल्लेख छ ।

सो रकममा प्रत्येक ५ वर्षमा १० प्रतिशत बृद्धि हुनेगरी पहिलो अवधिको लागि मुख्य उपयोग क्षेत्रको मासिक प्रति वर्गफुट ५० पैसा र गण्डौला मार्ग प्रभावित क्षेत्रको मासिक प्रति वर्गफुट १५ पैसामा २५ वर्षको लागि भाडामा दिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । कालिञ्चोक गाँउपालिका कुरीमा निर्माण भएको केवलकारले अनाधिकृतरुपमा कानून मिचेर गुठि संस्थान र गौरीशंकर संरक्षण क्षेत्रको जग्गा भोगचलन गर्न दिएको भन्दै स्थानियको विरोध गरेका थिए ।

निर्माणको शुरुवाती चरणमै यो केवलकार विवादमा तानिएको थियो । कानूनी प्रक्रिया अनुसार जग्गा प्राप्त नगरी केबलकार निर्माण थालेको भन्दै जिल्ला वन कार्यालयले केबलरकार निर्माण कार्य रोक्न भन्दै पटक पटक आग्रह गरेको थियो । वन कार्यालयले गुठी संस्थानले आफ्नो जग्गा भनेर आवश्यक प्रमाण कार्यालयमा पेश गर्न भनेपनि आवश्यक कागजपत्र पेश गर्न सकेको छैन । तर गुठी संस्थानले उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको दावी गरेपछि निर्माण कम्पनीले गुठी संस्थानसँग सम्झौता गरी कानूनी प्रक्रिया पुर्याएको भन्दै निर्माण कार्य गरेको थियो ।

जिल्ला वन कार्यालय दोलखा, झरेनी सामुदायिक वन र सुकराम सामुदायिक वन उपभोक्ता समूहले उक्त क्षेत्र वनको भएको दावी गर्दै आएका छन् । दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि गाँउपालिकाले सो क्षेत्रको जग्गा नापनक्सा स्थगित समेत गरेको थियो । कालिञ्चोक गाँउपालिकाले गत २२ असारमा स्थानिय स्वायत्त शासन अनुसार गाँउपालिकाको कार्यक्षेत्र भित्र पर्ने भएकाले नापनक्सा स्थगित गर्ने निर्णय गरेको थियो ।

सार्बजानिक जग्गामा निर्माण गरिएको केबुलकार बिबादास्पद भएर बेला बेलामा बन्द हुँदै संचालनमा आउदै गर्ने गरेको छ । कम्पनीले आफू अनकुल काम गर्न थालेपछि स्थानीयले गत शनिबारबाट केबुलकार सेवा बन्द गरेको स्थानीय होटल ब्यवसायी पासाङ लामाले बताए । कालिञ्चोक केबुलकार प्रालिले स्थानीयसँगको सम्झौता विपरीत गतिवधि गर्न थालेपछि स्थानियले केबुलकार बन्द गरेका हुन् । केवलकार संचालकले सम्झौता विपरित कम्पाउन्ड बढाउदै लान थालेपछि स्थानीय झनै सशंकित हुन थालेका छन् ।

केबलकार कम्पनीले पुरानो बाटो समेत बन्दगरी कम्पाउन्ड लगाएको छ । चौरी चराउन लैजाने आउने बाटो समेत बन्द गरिएको छ । केवलकारले सञ्चालन गरेको रेष्टुरेन्टमा अत्याधिक मंहगोमा बेच्ने, मन्दिर आसपास मासुजन्य खाद्यबस्तु बेच्ने गरेपछि त्यो पनि बन्द गराएका छन् । कम्पनीले कालिन्चोक क्षेत्रमा करिव ९ सय रोपनी चौरी चर्ने खर्क कब्जा गरेको स्थानीयको भनाई छ । स्थानीय र केबलकार सञ्चालकबीच केही समयदेखी मुडभेड समेत हुने गरेको छ । केबुलकार कम्पनीले भने केही अराजक समूहले केबुलकारमा तोडफोड गरेर डेढ करोड बराबरको क्षति पुर्याएको आरोप लगाएको छ ।

केबुलकारमा अराजक समूहले आक्रमण गरेको भन्दै डेढ करोड रूपैंयाको क्षति भएको कम्पनीका प्रबन्ध निर्देशक अशोक शिवाकोटीले बताए । कालिञ्चोकमा भइरहेको अतिक्रमण रोक्न पटक पटक सहमति गरे पनि कार्यन्वयन गर्न भने अहिले सम्म प्रशासनले सकेको देखिदैन । कालिञ्चोकमा देखिएको समस्या सामाधानका निम्ति पहल गर्न गुठी संस्थान, वन र स्थानीय तहबीचको स्वामित्व विवाद नै कालिञ्चोकमा देखिएको समस्याको मूल जरो रहेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । रिजालले भने, ‘सरोकारवालासहित सबै पक्षसँग छलफल गरेर कालिञ्चोकमा देखिएको समस्या सामाधान गर्नेबारे निष्कर्षमा पुग्नेछौं ।’ सौर्य दैनिक