जनता टाइम्स

१५ असार २०७७, सोमबार १७:५५

न्यूनतम पारिश्रमिक निर्धारण समितिले ठूला मिडियाका सम्पादकलाई काट्यो पत्र


काठमाडौं, असार १५ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले दुई दर्जन संचार संस्थाका सम्पादकहरुलाई पत्र काटेको छ ।

समितिले आज ती संस्थाका सम्पादकहरुलाई छुट्टा–छुट्टै पत्राचार गर्दै अहिलेको विषम र संकटपूर्ण अवस्थामा श्रमजीवीहरुका पक्षमा उभिन अपिल गरेको हो । समितिका अध्यक्ष राजेन्द्र अर्यालद्घारा हस्ताक्षर गरी ती सम्पादकहरुलाई प्रेषित पत्रमा व्यक्तिगत र सामुहिक रुपमा श्रमजीवीहरुका पक्षमा उभिन आग्रह गर्दै श्रमजीवीहरुलाई नियमित तलब दिने र जागरिबाट निष्काशन नगर्ने प्रत्याभूत सहितको वातावरण बनाउन पनि सम्पादकलाई आग्रह गरिएको छ ।

सबै सम्पादकहरु एक ठाउँमा उभिँदा पेशागत असुरक्षाका कारण मानसिक त्रासमा रहेका श्रमजीवीहरुका समस्या समाधान हुने विश्वासका साथ समितिले प्रतिनिधिमूलक रुपमा सम्पादकहरुलाई छुट्टा—छुट्टै अपिल गरी पत्राचार गरेको अध्यक्ष अर्यालले जनताटाइम्सलाई बताउनु भयो । तोकिएको न्यूनतम तलव समयमै नदिने,जबरजस्ती बेतलवी बिदामा बस्न व्यबस्थापनले दबाब दिने, तलव कटौती गर्ने र जागिरबाटै निष्कासन गर्ने गरेको गुनासा र उजुरीहरु समितिमा आईरहेको उल्लेख गर्दै समितिले त्यस्ता कार्य नगर्न र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नियमित रुपमा उपलब्ध गराउन सम्बन्धित संचार गृहहरुलाई पत्राचार गरेको छ ।

यस्तो छ सम्पादकलाई प्रेषित पत्र

श्रीमान सम्पादकज्यू

कोभिड–१९ को संक्रमणले अहिले मानव सभ्यता नै संकटमा छ । यसको प्रभाव नेपालमा पनि दिनानुदिन बढिरहेको छ । नेपालमा कोरानाको संक्रमणको विरामी बढिरहेको बेला नेपालको उद्योग, ब्यापार, शैक्षिक संस्था, स्वास्थ्य सेवा, यातायात ब्यबसायसँगै सबै क्षेत्रमा पनि गम्भीर असर गरेको छ । यसबाट आमसंचार क्षेत्र पनि मुक्त छैन ।

अहिले कोभिड –१९ का नाममा कतिपय संचारगृहरुले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको पारिश्रमिक नदिएको, तलबमा कटौती गरेको र समयमा तलब नदिएको, बेतलवी विदामा बस्न दबाब दिएको, राजीनामा दिन बाध्य बनाइएको र जागिरबाट निष्काशन गरिएको जस्ता उजुरीहरु यस समितिमा आइरहेको छ । यसबाट कतिपय संचारगृहमा श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था निराशाजनक र चिन्ताजनक देखिएको छ । यसबाट कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनको कठिन घडीमा क्रियाशिल श्रमजीवीहरुमाथि मानसिक त्रास फैलिएको देखिएको छ । अहिले कोरोना महामारीका बेला श्रमजीवीहरुले काम गरेवापतको पारिश्रमिकबाट दैनिक गुजारा चलाउनुका साथै कोठा भाडा, बालबच्चाको रेखदेखलगायत अन्य आवश्यकीय प्रवन्ध गर्नु परिरहेको बाध्यताबारे यहाँ जानकार नै हुनुहुन्छ । यसर्थ, यस घडीमा मानवीय संवेदनशीलताका दृष्टिकोणले पनि यहाँको साथ सहयोग श्रमजीवीहरुका पक्षमा रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।

यो बेला श्रमजीवी पत्रकारहरु जोखिम मोलेर कार्य क्षेत्रमा खटिरहेका छन । उनीहरुलाई हौसला दिनुपर्नेमा उल्टै ब्यबस्थापन पक्षबाट निरुत्साहित गर्ने कार्य भएबाट उनीहरुमाथि पेशागत असुरक्षाले मानसिक त्रास बढाएको पाइएको छ । जागिर गुमाउनु पर्ने र काम गरेको न्यूनतम तलबसमेत नपाउने विषय कोरोनाको महामारी बीचमा पेशागत असुरक्षा थप गम्भीर बन्न पुगेको छ । तसर्थ, आमसञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुलाई नहटाउन र न्यूनतम खाइपाई आएको तलबभत्ता उपलब्ध गराउने कार्यमा यहाँको महत्वपूर्ण भूमिकाको लागि अनुरोध गर्दछौं ।

यो बेला यहाँले अप्ठ्यारो र कठिन परिस्थितिमा काम गर्न परिरहेको यर्थातताबीच आम नागरिकका लागि सूचना प्रवाह गर्ने र पत्रकारको हितमा उभिएर काम गरिरहनु छ । श्रमजीवीहरुको समस्या समाधान गर्न तपाईले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै यो कार्य निरन्तर रहनेछ भन्नेमा विश्वस्त छौं । श्रमजीवी पत्रकारको हितमा तपाईले चाल्ने हरेक कदममा न्यूनतम पारिश्रमिक निर्धारण समितिले आवश्यक सहयोगसमेत गर्ने जानकारी गराउँछौ ।
धन्यवाद
राजेन्द्र अर्याल
अध्यक्ष