जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १०:३९

देखियो सरकारको काम : निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो


काठमाडौं, असार १९

नेपाल निम्न आय भएको मुलुकबाट निम्नमध्यम आय भएको देशको सूचिमा उक्लिएको छ । सरकारले कुनै काम गरेन भनेर आलोचना भईरहेका बेला विश्वको सूचिले भने बेग्लै तथ्य देखाएको हो ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको जनाएको छ । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ । नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।