जनता टाइम्स

२१ असार २०७७, आईतवार १३:३२

कानुन व्यवसायीसँग छलफल गरेको प्रचण्ड–नेपाल–खनालको स्विकारोक्ति


काठमाडौं, असार २१

राष्ट्रपतिलाई महाअभियोग लगाउने विषय उठिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले कानुन व्यवसायीसँग परामर्श गरेको स्विकारोक्ति गर्नुभएको छ । महाअभियोगको विषय उठेपछि आज विहान तीनै जना नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नु भएको थियो ।

तीनै जनाले नेता सार्वजनिक रुपमा यसविषयमा केही बोल्नु भएको छैन । तर, प्रचण्ड निवास खुमलटारमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको भने स्विकार गर्नुभएको छ । प्रचण्डनिवासमा वकिलहरुलाई समेत बोलाएर छलफल गरिएको तर, महाअभियोगका बारेमा नभई अध्यादेशका बारेमा मात्र छलफल भएको नेताहरुले राष्ट्रपतिलाई आश्वस्त पार्न खोज्नु भएको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोगका विषयमा गरेको कुराकानीको प्रमाण आफुसँग रहेको मन्त्रीहरुलाई समेत बताईसक्नु भएको छ । त्यसपछि नेताहरु आफ्नो भेद खुल्ने डरले राष्ट्रपतिसँग भेटवार्ता गर्न पुग्नु भएको नेकपाकै एक नेताले जानकारी दिनुभयो ।

‘खुमलटारमा हामी सचिवालयका नेताहरु, केही स्थायी कमिटीका सदस्य र कानुनविदहरुवीच छलफल भएकै हो । तर, त्यहाँ राष्ट्रपतिज्यूका विषयमा कुनै छलफल भएन’ आइतबार राष्ट्रपतिसँगको भेटमा नेताहरुले भन्नुभयो, ‘प्रधानमन्त्रीले संसदलाई छलेर पार्टी विभाजनको अध्यादेश ल्याएको अवस्थामा के गर्ने भन्नेबारे हामीले कानूनविदहरुसँग परामर्श गरेका हौं ।’