जनता टाइम्स

२२ असार २०७७, सोमबार ११:४७

बैज्ञानिकले पत्ता लगाए हावाबाट कोरोना सर्ने यस्तो तथ्य


काठमाडौं/एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको बिश्वभर कोरोना भाइरसबारे अध्ययनमा जुटेका बैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन । नयाँ तथ्य सत्यको नजिक पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई आफ्नो धारणा संशोधन गर्न विश्वका २३९ जना वैज्ञानिकहरुले आग्रह गरेका छन । उनीहरुका अनुसार कोरोना भाइरस हावाबाट पनि फैलन्छ ।

विभिन्न ३२ मुलुकका २३९ वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्न सक्ने देखिएको छ । उनीहरुका अनुसार कोरोना भाइरसयुक्त स–साना कणहरु हावामा बाँच्न सक्छन र मानिसमा सजिलै सर्न सक्छन । यसअघि डब्ल्युएचओले यो तर्कलाई ठाडै अस्वीकार गरेको थियो । कोरोना भाइरस केवल थुक र र्यालका स–साना कणहरुबाट मात्रै सर्छ भन्ने डब्लुएचओको भनाई छ । डब्लुएचओले बनाएको मापदण्डअनुसार कोरोना संक्रमित ब्यक्तिले बोल्दा, खोक्दा र हाछ्यँु गर्दा भाइरसयुक्त स–साना कणहरु बाहिर निस्कन्छ । डब्लुएचओले यी कणहरु हावामा उड्नसक्ने खालका हुँदैनन् भन्ने अडान राखेको थियो । बैज्ञानिकहरुले यो तर्कलाई चुनौती दिएका हुन ।

न्युयोर्क टाइम्समा प्रकाशित पछिल्लो रिपोर्ट अनुसार वैज्ञानिकहरुले डब्ल्युएचओलाई आफ्नो धारणा संशोधन गर्न आग्रह गरेका छन । वैज्ञानिकहरुले एक खुल्ला पत्र लेख्दै डब्ल्युएचओलाई यस्तो आग्रह गरेका हुन । विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुको समुहले जनाए अनुसार हावाबाट कोरोना भाइरस सर्छ भन्ने तथ्य र प्रमाणसहितको रिपोर्ट आगामी साता साइन्टिफिक जर्नलमा प्रकाशित हुनेछ ।

वैज्ञानिकहरुले यस्तो दावी गरिरहँदा डब्ल्युएचओका कोरोना टेक्निकल टिमका प्रमुख डाक्टर बेनेडेटा अलेग्रान्जीले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने सम्भावना रहेपनि अहिलेसम्म ठोस प्रमाण फेला नपरेको बताउनु भएको छ ।