Untitled Document

यसकारण गुम्यो झापामा लालकिल्ला

शान्तिराम कार्की/गौरादह, झापा

 

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो चरणकै जसरी सबैभन्दा ठुलो दलको रुपमा उदय भयो । तर कम्युनिष्ट आन्दोलनको उद्गम स्थल झापामा भने एमालेले आफ्नै किल्लामा नमिठोसँग पराजयको सामना गर्नुपरेको छ । एमालेको लालकिल्ला गौरादह नगरपालिका यसैको एक उदाहरण हो । यस नगरपालिकामा पहिलो पटक नेपाली कांग्रेसले जीत हासिल गरेको हो ।

गौरादहको मेयरमा कांग्रेसका रोहितकुमार साहले एमाले उम्मेद्धार मदन अधिकारीलाई ४ सय ५४ मतले पराजित गर्नुभयो । एमालेकै केन्द्रीय तहका नेताहरुले आफ्नै उम्मेद्वारलाई असहयोग मात्रै नभई हराउनै भुुमिका निर्वाह गरेको कारण पराजय हुनुपरेको स्थानीय एमाले कार्यकर्ता बताउँछन् । पञ्चायतकालदेखि नै बामपन्थी आधार क्षेत्र मानिएको गौरादहमा पहिलो पटक एमाले पराजय भएको हो ।
विगतको लालकिल्ला
२०४६ सालको जनआन्दोलनपछि भएको दुई वटै स्थानीय निकायको निर्वाचनमा एमाले बिजयी बन्यो । संविधानसभाका दुवै निर्वाचनमा पनि सो क्षेत्रबाट एमालेले जित हासिल ग¥यो । संविधान सभाको पहिलो निर्वाचनमा झापाका सबै क्षेत्रमा पराजय व्यहोरे पनि सो क्षेत्रबाट दिपक कार्कीले जिते । संविधानसभाको दोस्रो निर्वाचनमा पनि कार्की पुनः निर्वाचित हुनुभयो । पञ्चायतकालमा समेत तत्कालिन नेकपा मालेले जनपक्षीय उम्मेद्वारलाई विजयी बनाएको थियो । गैरादहमा मात्रै होइन, झापा क्षेत्र नम्वर ६ मा पर्ने गौरीगंञ्ज गाउँपालिकामा समेत एमालेले नराम्रोसँग पराजयको सामना गर्नुपरेको छ । सो गाउँपालिकामा एमाले तेस्रो स्थानमा पनि पर्न सकेन ।
आखिर भयो के ?
कम्युनिष्ट आधार इलाका गौरादह नगरपालिकामा एमाले किन पराजित भयो त ? निर्वाचन परिणाम सार्वजनिक हुने वित्तिकै एमालेबाट मेयरका उम्मेद्वार मदन अधिकारीको विज्ञप्ती आयो । उहाँले अमुल्य मतदान गरेकोमा आभार व्यक्त गर्दै निस्वार्थ भावले निरन्तर लाग्ने पार्टी नेता–कार्यकर्ताप्रति सम्मान व्यक्त गर्नुभयो ।

झापा जिल्ला कमिटीका सचिवसमेत रहनु भएका अधिकारीले लेख्नु भएको छ, ‘हामिले गौरादहमा जितेका छौं हारेका छैनौं, एमाले बाहेकका सबै शक्तिको गठजोडलाई पछार्दै, अर्बाैं धनरासिले छोपेको धर्तीलाई पल्टाउदै, कपटि बेहिमानिका जाललाई च्यात्तै जुन सफलता प्राप्त गरेका छौ यो हाम्रो जित भएको छ। असफलता नै सफलताको शिक्षा हो भन्ने कुरा बुझ्दै नेकपा एमालेका सबै मतदाता समर्थक सुभ चिन्तक कार्यकर्ता नेतामा सम्याम र धर्य रहन समेत अनुरोध गर्द छु । यस घडिमा कुनै उतेजना र आबेगमा नआउन पनि अपिल गर्दछु । यो निर्वाचनको परिणाम प्रति कुनै टिका टिप्पणि नगर्न पनि पार्टिका सबै कमरेडमा अनुरोघ गर्दछु । ”
यही शब्दहरुले केही नमिठो संकेत गर्दछ । त्यो हो पार्टी भित्रको अन्तरघात । मत आएको हिसावमा हेर्ने हो भने कतिपय वडामा एमालेका सबै चिन्हमा मतदान गरेपनि मेयर पद छाडेको कहि वडाध्यक्षलाई छाडेको त कहि दुवै पदलाई छाडेर मतदान गरेको देखिएको गणनामा बसेका एमालेका कार्यकर्ता बताउछन् । एमालेको आधार क्षेत्रका रुपमा रहेका वडामै मेयरमा कम मत आएको छ ।

एमालेका एक स्थानिय नेताले नाम नबताउने शर्तमा यो पार्टी भित्रको अन्तरसंघर्षका कारण विपक्षीले जित निकालेको बताउछन् । उनले सो क्षेत्रका सांसद दिपक कार्की र पोलिटब्युरो सदस्य अग्नी खरेल विचको टकरावले देखिएको बताउछन् । खरेलको बलबुतामा उम्मेद्धार बनेका अधिकारीलाई कार्कीले असहयोग गरेको आरोप केही कार्यकर्ताले लगाएका छन् । केहीले भने नगर कमिटिका केही पदाधिकारीले नै खुलेर असहयोग गरेको आरोप पनि लगाएका छन् । ६ महिना अघि भएको गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा कार्की र खरेलले आ आफ्नो उम्मेद्धार बनाउदा काग्रेस निकट व्यापारीले जितेका थिए । सबैभन्दा रोचक कुरा त के छ भने यो निर्वाचनमा एमालेले नगरपालिकाको उपमेयर सहित ९ मध्ये ६ वटा वडामा जित हासिल गरेको छ । काग्रेसले जित हासिल गरेका वडा पनि कम मतदाता भएको वडा समेत हुन् ।
मतदान भएकै दिन एमाले कै स्थानिय नेता कार्यकता सडकमै आ आफ्ना गुटका विरोधीको नामै किटान गरेर गाली गलौज गरेका शब्दहरु समेत सुनिएका थिए । साथै एकै वडामा उम्मेद्धारका आकाक्षी बढि देखिएपछि समस्या झनै बढेको थियो । कतिपय आकाक्षीहरु अन्तिम समयसम्म पार्टीको प्रचारमा देखिएपनि उनिहरुले भित्ररुपमा भने असहयोग गरेको स्पष्ट बुझ्न सकिन्थ्यो । एमालेले साविक कोहोवरा गाविसका वडाध्यक्षमा दुई पटक निर्वाचित अधिकारीलाई उम्मेद्धार बनाएको थियो । अधिकारीलाई गौरादहमा त्यति परिचित नाम मानिदैन थियो । उनि केही समय देखी दमक बस्दै आएका थिए ।

काग्रेसका शाह भने गौरादह बजार क्षेत्रका भएपनि उनि पछिल्लो समय भने धरानमा औषधि ब्यवसाय गर्दै आएका थिए । एमालेका कमजोर उम्मेद्धार भएपनि उनले स्थानीय जनताको मत पाएका थिए । तर मतगणनामा देखिएको मतपत्रमा हेर्ने हो भने उनले आफ्नै नेता कार्यकर्ताको मत पाएनन् । जुन हारको मुख्य कारण बन्यो । चाहे जे होस् परिणाम आईसक्यो, अब यसबाट पार्टी नेतृत्वले हार किन भयो भनेर तत्काल समिक्षा गर्न नसके यो क्यान्सर जसरी फैलिने निश्चित छ । पार्टीले यसको गम्भिर समिक्षा गरी निर्मम निर्णय नलिए आउदा आसन्न निर्वाचनमा पुन परिणाम अर्कै नआउला भन्न सकिन्न ।

२१ असार २०७४, बुधबार १५:५१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *