जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार २०:३७

शपथग्रहणमै कार्यकर्तालाई माधव नेपालको निर्देशन : पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई छैन


नेपालगञ्ज, जेठ १०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा अव हतियारको राजनीति सम्भव नहुने ठोकुवा गर्नुभएको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा आउन अपिल गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका बरिष्ठ नेता नेपालले सो भनाई राख्नुभएको हो ।

मुलुकमा हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव छैन, हतियारको राजनीति छाडेर वार्तामा आउनोस,’ नेकपा जिल्ला कमिटी बाँकेका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले भन्नुभयो । विप्लव समूह संयमतापूर्वक वार्तामा बस्नैपर्ने आवश्यकता पनि नेता नेपालले औल्याउनु भयो । ‘हत्या, हिंसा र चन्दा आतंकले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस, एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस, हतियारले तपाईंहरुको राजनीति चल्दैन,’ नेपालको भनाई थियो ।

नेता नेपालले पार्टीमा गुटबन्दी गर्ने छुट कसैलाई नभएको पनि प्रष्ट पार्नुभयो । ‘कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई छैन,’ सम्बोधनका क्रममा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेपालले भन्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्न पनि निर्देशन दिनुभयो ।

यसअघि बरिष्ठ नेता नेपालले जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं सांसद महेश्वर गहतराजलगायतले जिल्ला कमिटी सदस्यलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।