Untitled Document

प्रधानमन्त्रीको प्रस्ताव : संसदको म्याद एक बर्ष थपौं, फागुनमा प्रदेश, जेठमा केन्द्रको चुनाव गरौं

गणेश बस्नेत/शान्तिराम कार्की

काठमाडौं, असार २२- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सत्ता लम्ब्याउन ब्यवस्थापिका संसदको म्याद थप गर्ने प्रस्ताव गर्नुभएको छ । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संसदको म्याद थप्ने प्रस्ताव गर्नुभएको हो ।

संबिधानले तोकेको समयसीमा अनुसार काम हुन सक्दैन, अव संशोधन गरेर ब्यवस्थापिका संसदको म्याद एक बर्ष थपौं

दुवै चरणको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो बनेपछि प्रधानमन्त्री देउवाले केही दिनअघि मात्रै माओवादी अध्यक्ष दाहालसँग संसदको म्याद थप्ने प्रस्ताव गर्नुभएको हो । ‘संबिधानले तोकेको समयसीमा अनुसार काम हुन सक्दैन, अव संशोधन गरेर ब्यवस्थापिका संसदको म्याद एक बर्ष थपौं,’ बालुवाटार स्रोतका अनुसार सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग प्रधानमन्त्री देउवाको भनाई थियो ।

माओवादी अध्यक्ष दाहालले आफू निकट नेतासँग प्रधानमन्त्री देउवाले म्याद थपको बिषयमा राखेको प्रस्तावबारे सुझाव मागेपछि यो तथ्य बाहिर आएको हो । देउवाले म्याद थप्नु पर्ने कारण राख्दै तत्कालै निर्वाचन भए एमालेलाई पराजित गर्नै नसक्ने सुरक्षा निकायको रिपोर्टलाई आधार बनाएको स्रोतले बतायो । ‘राजमार्ग जोडिएको क्षेत्रमा मात्रै होइन, मधेसी बस्तीतिर पनि एमाले नै बलियो छ भन्ने रिपोर्ट छ, त्यसैले अव प्रदेश र केन्द्रीय संसदको चुनाव गरिहाल्ने भन्दा पनि म्याद थप नै उपयुक्त हुन्छ,’ देउवाको प्रस्ताव उधृत गर्दै आफू निकट नेतासँग दाहालको भनाई थियो । यस बिषयमा दाहालले निकटसँग सुझावसमेत माग्नुभएको थियो ।

प्रधानमन्त्रीको प्रस्ताव ब्यवस्थापिका संसदको म्याद एक बर्ष थपौं, आगामी माघ–फागुनमा प्रदेश र २०७५ को बैशाख–जेठमा केन्द्रीय संसदको चुनाव गरौं भन्ने छ  

 

दाहालले बैठकमा दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवाले एक बर्ष म्याद थप गर्दा आफूहरुले चाहेअनुसार काम हुने र एमालेलाई केही साइजमा ल्याउन सकिने बताउनु भएको थियो । दाहालका अनुसार संसदको म्याद एक बर्ष थपेर आगामी माघ फागुनमा प्रदेशको निर्वाचन गर्ने र अर्काे बर्ष केन्द्रीय संसदको निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको प्रस्ताव रहेको छ । ‘प्रधानमन्त्रीको प्रस्ताव ब्यवस्थापिका संसदको म्याद एक बर्ष थपौं, आगामी माघ–फागुनमा प्रदेश र २०७५ को बैशाख–जेठमा केन्द्रीय संसदको चुनाव गरौं भन्ने छ,’ आफूनिकटसँग दाहालको भनाई थियो ।

राजमार्ग जोडिएको क्षेत्रमा मात्रै होइन, मधेसी बस्तीतिर पनि एमाले नै बलियो छ भन्ने रिपोर्ट छ, त्यसैले अव प्रदेश र केन्द्रीय संसदको चुनाव गरिहाल्ने भन्दा पनि म्याद थप नै उपयुक्त हुन्छ

नेपालको संबिधानले संबिधानसभाबाट रुपान्तरित भएको ब्यवस्थापिका संसदको पदावधी आगामी माघ ७ गतेसम्म कायम रहने ब्यवस्था गरेको छ । तर अहिलेसम्म संबिधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन नै सम्पन्न भइसकेको छैन । प्रधानमन्त्री देउवाले दोस्रो चरणका लागि तय गरिएको प्रदेश २ को निर्वाचन असोज २ गते सार्ने निर्णय लिइसक्नु भएको छ । बालुवाटार स्रोतका अनुसार देउवाले सत्तारुढ अन्य दलका नेतासँग समेत संसदको म्याद थप गर्ने प्रस्ताव राख्नुभएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन देउवाको मनसाय संसदको आयु बढाउने र चुनाव धकेल्ने रहेको संकेत गर्दै अमान्य हुने बताएको थियो । प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदलाई पुर्णता नदिँदै संसदको म्याद थप गर्ने प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्री देउवा र दाहालबीच मन्त्रिपरिषद बिस्तार र मन्त्रालय भागबण्डाको बिषयमा कुराकानी चलिरहेकै बेला संसदको म्याद थप गरी प्रदेश र केन्द्रीय संसदको चुनाव पनि पर सार्ने प्रस्ताव गर्नुभएको स्रोतको भनाई छ ।

२२ असार २०७४, बिहीबार १५:२७मा प्रकाशित

2 responses to “प्रधानमन्त्रीको प्रस्ताव : संसदको म्याद एक बर्ष थपौं, फागुनमा प्रदेश, जेठमा केन्द्रको चुनाव गरौं”

  1. sher bahaadur lampasarbaadi says:

    चुनाब सार्ने फर्मुला :-
    वाटर = h2o
    मान्न्ग्रेसs = 2 congres & 1 maawobaadi (c2m )
    त्यशैल कांग्रेस र मावोबादी मिलेर १००% संसद र प्रदेशको चुनाब सार्छन,
    यो कुरा लेखेर राख्नुस,शेरे फटाहको दाउनै चुनाब सार्ने हो,
    दक्षिणको छिमेकीको रणनीति पनि चुनाब सार्ने नै हो,
    त्यशैले चुनाब नसर्ने त् कुरै छैन , हेर्दै जानुहोला /

  2. दयाराम श्रेष्ठ says:

    निर्वाचनमा अाफ्नाे पक्ष नहुने देखेपछि अवका निर्वाचन गर्न हिम्मत हारेकाेले पराजित मानसिकताकाे पराकाष्ठा स्वरूपकाे अभिव्यक्ति हाे । यदि जनताले नै चुनिएकाे भनेर घमण्ड गर्ने देउवाले जन अनुमाेदित सरकारलाइ सत्ता हस्तान्तरण गर्न हिम्मत देखाएर दुइतै चुनाव गरेर इतिहासकाे पानामा सुनाैलाे अक्षरले नाम लेखाउने अवसर नगुमाअाेस् सल्लाहकारहरूले उचित सल्लाह दिउन र अाँट र साहस देखाएर याे निर्णाय गराेस लाेकतान्त्रिक सरकारकाे लाेकतान्त्रिक निर्णय व्यवहारमा गरेर देखावस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *