Untitled Document

रंगीन दुनियाँ, अँध्यारो जिन्दगीः नाइट क्लबमा प्रहरी नजर

१८ वर्ष मुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो तर मनोरञ्जनको बहानामा ठमेल, दरबारमार्ग, ज्याठा र झमेलका केही डिस्को र बारले समूहगत रुपमै किशोर–किशोरीलाई डान्स र बारमा प्रवेश गराउने गरेका छन् ।

केही वर्षअघिसम्म प्रहरी यसप्रति सचेत पनि देखिन्थ्यो । बेलाबखत डिस्को र बारमा निगरानी बढाएर किशोर–किशोरीलाई प्रवेश गराउने डिस्को र बारलाई निरुत्साहित गराउने गरेको थियो । केही डिस्कोले त प्रायः शुक्रबारको दिन किशोर–किशोरीलाई लक्षित डान्स पार्टीको आयोजना गर्छन्, जहाँ मदिरासमेत खुला गर्ने गरिन्छ ।

नौ वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंले सुन्धारामा रहेको बेबिलोन डिस्कोमा दिउँसो छापा मार्दा तीन सय बढी विद्यार्थी विद्यालयको पोसाकमै फेला परेका थिए । सो घटनापछि केही समय बेबिलोन बन्द भएको थियो । अहिले पुरानो स्थानभन्दा केही पर पुनः सो डिस्को सुरु भएको छ ।

बेबिलोनमा छापा मार्दा मिडियालाई सँगै लिएर गएको भनी प्रहरी प्रशासनको आलोचना भएको थियो । अवैध रुपमा किशोर–किशोरीलाई डिस्कोमा प्रवेश गराउने सञ्चालक दोषी भए पनि डिस्को जाने किशोर किशारीलाई अपराधीझैँ प्रहरी भ्यानमा राख्ने प्रहरीको कामको आलोचना भएपछि प्रहरी यस्तो कार्बाहीमा सुस्ताएको थियो ।

तर किशोर–किशोरीलाई डिस्को र बारको ढोका खुला गराउने क्रम भने रोकिएन । गत शुक्रवार महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठामा रहेको ओनेक्स क्लबमा छापा मार्दा त्यही देखियो । मध्यरात क्लब पुगेका प्रहरीले २३ जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका केही किशोरीको उमेर १२ वर्ष मात्र रहेको देखियो । प्रहरीले त्यहाँ भेटिएका किशोरीलाई नियन्त्रणमा लिएर दरबारमार्ग चौकीमा ल्याएर अभिभावकको जिम्मा लगाई पठायो भने क्लबका सञ्चालक सत्यमान दोङलाई पक्राउ गरेको थियो ।

सञ्चालक तारेखमा
प्रहरीले छापा मार्नुको कारण मनोरञ्जनको आवरणमा वेश्यावृत्ति र लागुऔषधको कारोबारसमेत हुने गरेको दाबी गरेको थियो तर सञ्चालक दुई दिन हिरासतमा बसी तारेखमा मुक्त भइसकेका छन् ।

दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्ल किशोर–किशोरीलाई प्रवेश गराउने गरेको सूचनाको आधारमा क्लबमा जाँदा सूचना सत्य देखिएपछि २३ किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको र सञ्चालकलाई दुई दिन हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको र पछि तारेखमा मुक्त भएको जानकारी दिए ।

‘अभिभावकहरुसँग जाहेरी माग्दा उहाँहरु तयार हुनु भएन,’ डिएसपी मल्लले भने, ‘अहिलेको अपराध संहिताअनुसार बिना जाहेरी हिरासतमा राखेर अनुसन्धान र कार्बाही गर्न कठिन भएकाले दुई दिन हिरासतमा राखेर सम्बन्धित कार्यालयमा बुझाइदियौँ । यसपछि उनी छुटेका हुन् ।’

दर्तै नगरी सञ्चालन
डिएसपी मल्लले दिएको जानकारीअनुसार क्लबमा किशोर–किशोरीको प्रवेश गराएको मात्रै हैन, क्लब दर्ता नगरीकनै चलाइएको थियो । क्लब दर्ताको प्रक्रियामात्रै सुरु गरेर सञ्चालन गरेको खुलेपछि अनुमति नलिएसम्म नचलाउनू भनेर बन्द गर्न निर्देशन दिएको र यसबारे जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी दिएको डिएसपी मल्लले जानकारी दिए ।

अन्य क्लब र डिस्को पनि उस्तै
प्रहरीको दाबी पत्याउने हो भने ठमेल र दरबारमार्ग क्षेत्रका अन्य नाइट क्लब र डिस्कोले पनि कम उमेरका किशोर–किशोरीलाई रोकतोक नगरी प्रवेश गराउँछन् । डिएसपी मल्ल नै यो कुरा स्वीकार गर्छन् । ‘अन्यमा पनि छिराउँछन् भन्ने सूचना आएको छ तर सबै काम प्रहरीले मात्र गर्न सक्दैन,’ मल्लले भने ।अनुगमन गर्ने अधिकार प्रहरीसँग नभएको, जहाँ दर्ता हुने हो त्यहीँबाट अनुगमन हुनुपर्ने मल्लको तर्क थियो ।

अहिले रात्रीकालीन व्यवसायले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अनुगमनको जिम्मा दिने प्रहरीलाई नै हो । यस्तोमा अधिकार छैन भन्न मिल्ला र रु भन्ने जिज्ञासामा डिएसपी मल्लले भने, ‘जे कुरा पनि प्रहरीलाई मात्र जिम्मा दिएर हुन्छ र रु प्रहरीको काम शान्ति सुरक्षा दिने हो । त्यो काम गरिरहेका छौँ । डिस्को, डान्स अनुगमन गर्ने हो भने जहाँ दर्ता भइरहेका छन्, त्यो निकायले प्रहरी सहितको संयुक्त अनुगमन समिति बनाउनु पर्यो नि १’

‘जे पनि प्रहरीले गर्न सक्दैन’: डिएसपी, दानबहादुर मल्ल, प्रमुख, महानगरीय प्रहरी वृत्त
कम उमेरका किशोर–किशोरीलाई प्रवेश गराएको सूचनाको आधारमा क्लब ओनेक्समा छापा मार्दा २३ जना किशोर–किशोरी फेला परेपछि उनीहरुलाई अभिभावकलाई जिम्मा लगायौं । सञ्चालकलाई पक्राउ गरेर राखेका थियौं ।

अनुसन्धान गर्दा क्लब दर्तासमेत भएको रहेनछ । प्रक्रियामै रहेको बेलामा खोलेको देखिएपछि क्लब बन्द गरायौं । बदमासी गर्ने सञ्चालकविरुद्ध कार्बाहीका लागि क्लबमा भेटिएका किशोर–किशोरीका अभिभावकलाई जाहेरी दिन आग्रह गर्दा कसैले मानेनन् । अहिले बिना जाहेरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्न । कानुनै त्यस्तो बनेको छ । दर्ता नगरी क्लब चलाउँदा पनि प्रहरीले कार्बाही गर्न सक्दैन । त्यसैले दुई दिन हिरासतमा राखेर सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा बुझायौँ । उनी अहिले छुटिसकेका छन् ।

यस्तालाई कार्बाही गर्नुपर्ने हो तर नयाँ अपराध संहिताअनुसार गर्न सकिएन । सबै जिम्मेवारी प्रहरीको जस्तो देखिए पनि अनुगमनको अधिकार छैन । शान्ति सुरक्षाको सवालमा मात्रै हामी खटिने हो । जे पनि प्रहरीले मात्रै गर्न सक्दैन । जहाँ दर्ता हुने हो, अनुगमन उसले गर्नुपर्ने हो । प्रहरी सहितको संयुक्त अनुगमन समिति पनि बनाउन सकिन्छ तर त्यस्तो भएको छैन ।

रंगीन दुनियाँ, अँध्यारो जिन्दगी

‘नाम नखुलाइदिनू है, साहूले थाहा पायो भने जागिर जान्छ मेरो,” काठमाडौँको निकै चलेको डान्सबारमा डान्सरका रूपमा काम गरिरहेकी रक्षा श्रेष्ठ (नाम परिवर्तन), १९, ले आफ्नो कथा सुनाउनुपूर्व नै सजग गराइन् । रोल्पा घर भएकी यिनी राम्रो अंक ल्याई १२ पास गरेपछि म्यानेजमेन्ट पढ्छु र प्रहरी बन्छु भन्ने सोचले काठमाडौँ आएकी थिइन् । “पुलिस भएको भए समाजले सम्मानले हेथ्र्यो । भाग्यले बार डान्सर बनाइदियो, सबै छिस्छिस् दूरदूर मात्र गर्छन्,” भाग्यलाई सराप्दै उनी भन्छिन् ।

काठमाडौँ आएपछि उनी धेरै समय जागिरका निम्ति भौँतारिइन् । कहिले असनका गल्लीगल्ली त कहिले लगनखेलका गोरेटो । महँगीले थिचेको काठमाडौँमा घरबाट बोकेर हिँडेको दस हजार रुपैयाँ सकिन समय लागेन । बस्ने ठाउँ नपाउँदा पाटनका मन्दिरका पेटीमा सुतेको अनुभव पनि छ उनीसँग । केही समयपछि कुमारीपाटीको एक कपडा पसलमा सेल्स गर्लको काम पाइन्, बस्नका लागि नजिकै कोठा पनि पाइन् । तर, दुस्खका दिन सकिएनन् । “१२ घन्टा खटिनुपर्ने, तलब जम्मा आठ हजार । ६ हजार त कोठाको भाडा तिर्दै जान्थ्यो,” उनले विगत सम्झिइन् । बारमा नाचेमा तलब त आफ्नो ठाउँमा छँदै छ, अतिरिक्त टिप्स र कमिसन पनि पाइन्छ भनी कसैले सुनाइदिएका भरमा उनी यस व्यवसायमा लागेकी हुन् । हातमुख जोड्ने राम्रो जोहो गरौँला अनि बचेको पैसाले कलेज पढौँला भन्ने उनको इच्छा अहिले इच्छामै सीमित भएको छ ।

तीन वर्ष भयो, रक्षा घर गएकी छैनन्, परिवारका कसैलाई भेटेकी छैनन्, कसैसँग फोनमा समेत कुरा गरेकी छैनन् । हीनताबोधले उनमा जरो गाडेको छ । डान्सबारमा दिनहुँ आउने ग्राहक नै उनका संसार बनेका छन् र त्यहाँका अन्य डान्सर नै परिवार ।

“घरमा थाहा पाए मार्छन्,” गहभरि आँसु पार्दै उनी भन्छिन् । डान्सबारमा अधिकांश राम्रो नियतले नआउने उनी बताउँछिन् । चित्ताकर्षक नृत्य गर्दै उनीजस्तै अन्य डान्सर ग्राहकसामु पुग्छन्, सँगै बसेर जुस, बियर तथा हुक्का पिउँछन् । अन्यत्रभन्दा मादक पदार्थको मूल्य डान्सबारमा अलि बढी हुन्छ । ग्राहकसँग बसेर खाएबापत डान्सरहरूलाई बारका साहूले कमिसन दिन्छन् । अझ, खुसी भएका ग्राहकले टिप्स पनि दिन्छन् । भन्छिन्, “बियर धेरै खान पाइँदैन । झ्याप भइयो भने फेरि अरू ग्राहकसँग बस्न सकिँदैन ।”

बारमा एकचोटि आएका आफूलाई फिल्म निर्देशक भनी चिनाउने एक व्यक्तिले उनलाई आइटम गीतमा डान्स गर्ने प्रस्ताव राखे । सुनाउँछिन्, “सोचेँ, फिल्ममा आइटम डान्स गर्नेको चाहिँ इज्जत छ, हाम्रो छैन । त्यसैले उनको प्रस्ताव स्वीकारेँ । तर, उनको अभिप्राय अर्कै रहेछ ।” यसरी धेरै जनाले धेरै पटक पैसाको प्रलोभनमा पारी फाइदा उठाउन खोजेका रहेछन् ।

काठमाडौँ नयाँ बसपार्कको एक गजलबारमा रक्षाकी साथी सोफिया, २२, काम गर्छिन् । रक्षाका भन्दा उनका अनुभव तीता छन् । गजलबारमा काम गर्ने सुइँको पाएपछि उनलाई पहिलेका घरबेटीहरूले निकालिदिएका रहेछन् । “त्यसैले अहिलेका घरबेटीलाई हस्पिटलमा काम गर्छु भनेकी छु । राती निस्कँदा केही भन्दैनन् । सम्मानको दृष्टिले हेर्छन्, छोरीजस्तै माया गर्छन् ।” पेट पाल्न मानिसले अँगाल्ने पेसाका आधारमा सम्मानको तह तोकिने समाजमा बस्न गाह्रो भएको गुनासो पोख्छिन् सोफिया ।

“डान्सबारमा स्ट्रिप गर्नुपर्दैन । पूरै लुगा लगाएर नाच्न पाइन्छ । गजलबारका साहू सकेसम्म पारदर्शी कपडा वा भित्री वस्त्र मात्र लगाइदेओस् भन्ने सोच्छन्,” रक्षासँग आफ्नो कामको तुलना गर्दै सोफिया भन्छिन् । गजलबारमा कहिलेकाहीँ आउने ग्राहकलाई दिनहुँ आउन प्रेरित गर्न साहूकै आदेशमा उनीहरूसँगै बाहिर जाने गरेको समेत उनी बताउँछिन् । रक्षाजस्तै उनी पनि घर नगएको वर्षौं भइसक्यो । फर्कने अवस्था पनि छैन । उनले यस पेसालाई सहर्ष स्वीकार्न नसके पनि यस पेसाले उनलाई आफ्नो बनाइसकेको छ ।

रक्षा बालिग नहुँदै यस पेसामा संलग्न भएकी थिइन् भने सोफिया बालिग भइसकेपछि । नागरिकता भने दुवैको छैन । केही सामाजिक संस्थाले रक्षालाई सम्झाई–बुझाई यस पेसाबाट अलग्याउन नखोजेका पनि होइनन् । रक्षाले आक्रोश पोखिन्, “म बाटोमा सुतेका बेला कहाँ थिए यस्ता संस्था रु बरु सक्छन् नै भने अब समाजमा मेरो छवि चोख्याइदिऊन्, स–सम्मान बाँच्ने वातावरण सिर्जना गरिदिऊन् ।” यस पेसामा स्वेच्छाले नआएको तर अब अन्त कतै जाने ठाउँ पनि नभएको पीडाले उनलाई बारम्बार सताउँछ । भन्छिन्, “कसैले नदेख्ने गरी कहिलेकाहीँ डाँको छाडेर रुन्छु ।”

गाउँमा आएका एक युवकले ‘काठमाडौँमा पैसा फल्ने रूख छ, कहिल्यै दुस्ख पाइँदैन,’ भनेर फकाएकै भरमा उनैसँग भागेर काठमाडौँ आएकी सविता ठमेलको एक डान्सबारमा काम गर्छिन् । सवितामाथि आफ्नो मात्र नभएर छोरीको पनि जिम्मेवारी छ । डान्सबारमा काम गर्न छाडेर ती युवक कता गायब भए, सवितालाई नै थाहा छैन । पाँच वर्षीय छोरी स्कुलबाट फर्किएपछि सविता सधैँ उनलाई कोठामा थुनेर डान्सबार जान्छिन् । उनले दुस्खमनाउ गरिन्, “न एउटा राम्रो डान्सर बन्न सकेकी छु, न त एक कुशल आमा ।” सविताकी छोरीलाई भने आमा साँझतिर तयार भएर निस्केको मन पर्दो रहेछ । भन्छिन्, “म पनि ठूली भएपछि आमाजस्तै राम्री हुन्छु ।” सविताले झपारिन्, “चुप, त्यस्तो भन्न हुन्न । तँलाई त म ठूलो मान्छे बनाउँछु ।”

बार डान्सरले एक दिन पनि बिदा नपाउने उनीहरू बताउँछन् । बिरामी परेर वा अन्य केही कारणले बिदा चाहिए तलब काटिने गुनासो यिनको छ । त्यसैले सविताले छोरीलाई समय दिन पाएकी छैनन्, अरू डान्सरले आफ्नो इच्छा अनुरूपको काम गर्न पाएका छैनन् । सोफिया भन्छिन्, “हामीले यस्तो जिन्दगी रोजेका छौँ जुन बाहिरबाट हेर्दा रंगीन देखिन्छ । तर, भित्र कति अन्धकार छ, त्यो भोगेकालाई मात्र थाहा छ ।”

डान्सबार तथा गजलबारमा ग्राहक बनी दुबई, नैरोबी, दिल्लीजस्ता विदेशी सहरका बारका एजेन्ट पनि बेलाबखत आउँछन् । रंगीन जीवन र धेरै पैसाको लोभ देखाई केही युवतीलाई यी सहरका डान्सबारमा रोजगारीका निम्ति लैजान्छन् । रक्षा र सोफियाकी साथी कृपाले टेलिफोन संवादमा भनिन्, “नेपालको भन्दा पैसा बढी हुन्छ । तर, खट्न निकै पर्छ ।” उनलाई नियुक्त गर्न दुबईको एक डान्सबारका साहूले एजेन्टलाई १० लाख तिरेका थिए । पासपोर्ट बनाउने बेला उमेर नपुगे पनि बढाएर बनाइएको थियो ।

“कसरी बनाइयो थाहा छैन । एजेन्टले एक दिन फोटो खिचाउन लगे, भोलिपल्ट पासपोर्ट हात पर्‍यो,” पासपोर्ट बनाएको प्रक्रियाबारेको उनको भनाइ हो यो । डान्सरका रूपमा केही समय उक्त बारमा बिताइसकेपछि उनी अहिले तिनै साहूसँग घरजम गरी बसेकी छन् । दुवै मिली डान्सबार चलाउँछन्, एजेन्ट पठाई यताका युवती पनि समय–समयमा लैजान्छन् । आवश्यक कानुनी प्रक्रिया पुर्‍याएरै नेपालबाट कामदार झिकाउने गरेको उनी बताउँछिन् । “हामीले महिला बेचबिखन गरेका होइनौँ, युवतीहरूको पूर्ण सहमति नभई ल्याउन पनि मिल्दैन ।”

यसरी बार डान्सर विदेसिने क्रम बढेपछि बारहरूमा योग्य डान्सरको कमी हुँदै गएको बार सञ्चालकहरू बताउँछन् । अझ, नाइट क्लब, पब र डिस्कोको संख्यामा वृद्धि भएसँगै डान्सबारमा आउने ग्राहक कम हुँदै गएको गुनासो एक डान्सबार सञ्चालकको छ । भन्छन्, “समाजमा डान्सबार आउनु सभ्य मानिँदैन, क्लब जानु निकै सभ्य मानिन्छ । त्यसैले अहिले क्लब तथा लाउन्जहरूले धेरै ग्राहक आकर्षित गरिरहेका छन् ।”

बार डान्सरहरूको न्यूनतम आय सरकारले १४ हजार रुपैयाँ तोकेको छ । तर, यसबारे उनीहरू स्वयं जानकार छैनन् । पाँच हजार र कमिसनमा मात्र काम गर्ने युवती पनि छन् । उनीहरूको हकहितमा आवाज उठाउने ‘महिलाका निम्ति महिला’ संस्थाकी अध्यक्ष रचना ढकाल भन्छिन्, “कानुनी न्याय पाउनबाट अहिलेसम्म कोही बार डान्सर वञ्चित भएका छैनन् । उनीहरूलाई चाहिएको सामाजिक न्याय हो ।”

डान्सरका हितमा काम गर्ने उद्देश्यः समीर गुरुङ अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्

ठमेल र नयाँ बसपार्क अत्यधिक डान्सबार सञ्चालन हुने ठाउँमध्येमा पर्छन् । यिनको संख्या अहिलेसम्म यति नै भन्ने यकिन छैन । कारण, अहिलेसम्म त्यस्ता बार नियन्त्रण गर्ने संस्था नै थिएनन् । अबको केही महिनाभित्र देशभरका बार र तिनमा कार्यरत कर्मचारीबारे तथ्यांक सार्वजनिक गर्ने उद्देश्य परिषद्ले लिएको छ ।

जनयुद्धले प्रभावित गाउँका युवती सुरक्षाका लागि काठमाडौँ पसेपछि बार डान्सर बन्नुलाई सबैभन्दा सहज पेसाका रूपमा लिन्थे । म आफैँ पनि पहिला डान्सबार चलाउँथेँ । त्यसरी आएका महिलालाई नृत्यमा प्रशिक्षण दिएर मात्र काममा लगाउँथेँ । विश्वका ठूलाठूला सहरबाट डान्सबारका साहू आउँथे, ती महिलालाई पैसाको प्रलोभन देखाउँथे र लैजान्थे । थोरै पैसा र सीमित कमिसनमा काम गरिरहेका यहाँका डान्सर त्यसप्रति आकर्षित नहुने कुरै भएन । डान्सरहरू विदेसिने क्रम बढ्यो । त्यसैले काठमाडौँका डान्सबारमा योग्य डान्सर नै छैनन् भन्दा पनि हुन्छ ।

ठमेलका डान्सबारमा कार्यरत धेरैजसो महिलाका छोराछोरी छन्, श्रीमान् छैनन् । रातीको समयमा काम गर्ने हुँदा उनीहरूलाई बच्चाको हेरचाह गर्न समस्या पर्छ । त्यस्तै, महिला तथा बालबालिकालाई लक्षित गरी परिषद् छिट्टै एउटा नाइट केयर सेन्टर खोल्ने प्रक्रियामा छ । त्यसपछि बार डान्सर महिला निर्धक्क र निश् चिन्त भई आफ्ना काममा जान पाउनेछन् ।

September 29, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *