जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १६:४६

भ्रष्टाचारका आरोपी प्रमुख सेनानी कार्की बर्खास्त


काठमाडौं ।

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की बर्खास्तमा परेका छन् । भ्रष्टचारको आरोप लागेका उनलाई सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी पदबाट बर्खास्त गरेको हो ।

गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ । प्रमुख सेनानी कार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्। कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ।

चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए । उनीविरुद्ध वैशाख पहिलो साता उजुरी परेको र सोही उजुरीका आधारमा प्रक्रिया अगाडि बढाइएको सैनिक स्रोतले जनाएको छ । सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध उक्त आदेश दिएको हो। कार्की ३५ दिन भित्र पुनारवेदन अदालतमा जान सक्नेछन्।