जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १६:०४

सीमानाकामा कडाई गरिदिन उपत्यकाका नगरप्रमुखको सीसीएमसीसँग आग्रह


काठमाडौँ, साउन २५

उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग सीमानाकामा कडाई गरिदिन आग्रह गरेको छ । सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार रक्षा मन्त्रालयमा भएको छलफल सो आग्रह गरेका हुन् ।

फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गर्नुभएको थियो । संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

‘काठमाडौं उपत्यका मुलुकको राजधानी समेत हो । यहाँको घनाबस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौं,’ शाक्यले भन्नुभयो, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।’