जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार ११:३४

हत्यारा महिलाको बयान : भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ, ह्यामरले संवेदनशील अंगमा हिर्काएँ


काठमाडौं, साउन २७ । काठमाडौंको गोंगबुमा शनिबार राती भएको विभत्स हत्यामा संलग्न महिलाले आफ्नो अपराध स्वीकार गरेकी छन । आरोपी महिलाले घरमा बोलाएर नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी हुन । घटनामा संलगन रहेको आरोपमा पक्राउ परेकी महिला कल्पना शाहीले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको प्रहरी समक्ष बयान दिएकी हुन ।

हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ परेकी कल्पना शाही भन्ने कल्पना मुडवरीले बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा कल्पना पौडेलको नामबाट ती महिलाले फेसबुकमा च्याट गरेको पाइएको छ ।

भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन । शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन, प्रहरीसँगको बयानमा कल्पनाले भनेकी छन । प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि फेला पारेको छ ।

घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन मुख्य कारण देखिएको जनाएको छ ।