Untitled Document

राजमार्गमा कुनैपनि सवारीको चेकजाँच नगर्न डिआइजी थापाको निर्देशन

मकवानपुर, असोज २६

नेपाल प्रहरीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा कुनैपनि सवारी चेकजाँच नगर्न निर्देशन दिएको छ । प्रदेश नम्बर ३ काप्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपककुमार थापाले राजमार्गका कुनै पनि स्थानमा चेकजाँच नगर्न निर्देशन दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक अधिकृतका अनुसार डिआइजी थापाले बिना गत बुधवार प्रहरीको सेटबाटै आफ्नो क्षेत्रभित्र पर्ने राजमार्गका कुनै पनि स्थानमा अवदेखि सवारी चेकजाँच नगर्नु भन्ने आदेश दिनुभएको हो । ‘सेटमै राजमार्गमा सवारी चेकजाँच नगर्नु भन्ने आदेश डिआइजी सापबाट आएको छ, त्यसैअनुसार काम अघि बढेको छ,’ जिप्रका मकवानपुर अन्तर्गत पर्ने प्रहरी कार्यालयका एक प्रमुखले भने । उनका अनुसार डिआइजी थापाले माथिको आदेशमा कुनै कारण खुलाउनु भएको छैन ।

डिआइजी थापाको यो निर्देशनको जिल्ला प्रहरी प्रमुखहरुले आपत्ति जनाएका छन । राजमार्गमा थप चेकजाँच बढाउनु पर्ने बेलामा कुनैपनि सवारी चेकजाँच नगर्नु भन्ने आदेश तस्करीका लागि लाइन खोलिएको रुपमा उनीहरुले बुझेका हुन । थापाकोयो निर्देशनको बिषयमा केही प्रहरी अधिकृतहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र आइजीपीको सचिवालयमा उजुरी दिएका छन ।

‘चाँडबाडमा हुनसक्ने अपराध नियन्त्रणका लागि चेकजाँच बढाउनु पर्नेमा उल्टै चेक नगर्नु भन्ने आदेश आपत्तिजनक हो, यस बिषयमा हामीले आइजीपीलाई जानकारी गराएका छौं,’ ती अधिकृतले भने । स्रोतका अनुसार ठुलै चलखेलपछि डिआइजीले तस्करीकोलाइन मिलाउन चाडबाँडको अवसर पारेरचेकजाँच नगर्न निर्देशन दिएका हुन । प्रदेश नम्बर तीन छिमेकी मित्रराष्ट्र भारत र चीनसँग जोडिएको छ ।

राजमार्गमा चेक नगर्नु भन्ने आदेश कतै रक्तचन्दन र सुन तस्करीका लागि त होइन भन्ने प्रश्नसमेत उठेको छ भने राजधानीमा ठुलै हतियार भित्र्याउने योजना अन्तर्गत पनि यस्तो काम भएको हुनसक्ने आशंका ती प्रहरी अधिकृतहरुको छ । यता प्रहरी महानिरीक्षकको सचिवालयका अधिकृतहरुले भने ‘यस्तो पनि निर्देशनदिन मिल्छ ?’ भन्दै आश्चर्य प्रकट गरे ।

‘राजमार्गमा चेकजाँच नगर्नु भन्ने आदेश त अपराध बढाउ, काम नगर भन्ने पो हो, प्रहरीले नियमित चेकजाँच गर्नुपर्छ, यस्तो निर्देशनको बिषयमा आइजीपीसापलाई जानकारी गराउँछौं, आवश्यक कदम चालिन्छ,’ सचिवालयका एक अधिकृतले भने ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *