Untitled Document

प्रमुख आयुक्त घिमिरेको घोषणा : ठेक्का लिएर लामो समयसम्म काम नगर्नेलाई अनुसन्धानको दायरामा ल्याइन्छ

 अख्तियारको काममा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन

पोखरा, असोेज २६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगलाई राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने घोषणा गर्नुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आयोजित अन्तरक्रियामा प्रमुख आयुक्त घिमिरेले आयोगको काम कारवाहीमा राजनीतिक गन्ध आउन नदिने अठोटसमेत गर्नुभयो ।

उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने प्रष्ट पार्नुभयो । आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उहाँले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गर्नुभयो । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै उहाँले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने जनाउ दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उहाँले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गर्नुभयो । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा उजुरी पर्ने गरेको र आयोगका कामको प्रभावकारिता बढाउन समयसापेक्ष तालीम प्रदान गर्ने गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको र त्यसतर्फ अख्तियारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *