Untitled Document

५ अर्ब लगानीमा पोखरामा पानी शुद्धीकरण आयोजना, तराईका २२ जिल्लामा शुद्ध खानेपानी

काठमाडौं, असोज २२
खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्दैछ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको छ । जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो ।

मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । त्यसैगरी बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी गराईयो ।

आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिनुभयो । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताउनुभयो ।

त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ ।

त्यस्तै बैठकमा मन्त्रालयले दुई साता अघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गरायो ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताउनुभयो । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले देशै भरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत पूर्ण सरसफाईको अभियानलाई अघि बढाउँदै लैजाने बताउनुभयो । पूर्ण सरसफाई सँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने उहाँको उद्घोष छ ।

‘तराईमा शुद्ध खानेपानी वितरणको योजना निर्माण’

खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानीको पहुँच सुनिश्चितता गर्ने गरी विशेष योजना अगाडि बढाइएको बताउनुभएको छ ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१औँ साधारणसभा तथा ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा तराईमा शुद्ध खानेपानी वितरणका लागि महाकाली, कर्णाली, बवई, नारायणी, मेचीलगायतका नदीमा सम्भाव्यता अध्ययनसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयोे ।

उहाँले नवलपरासी, चितवनसहित छ जिल्लामा नारायणीको पानी शुद्धीकरण गरेर जनतामाझ पु¥याइने गरी दीर्घकालीन योजना अगाडि सारेको जानकारी गराउनुभयो । जनताले आर्षनिक युक्त पानी खान नपरोस् भनेर नारायणी ‘बल्क वाटर’ परियोजना सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको रु एक करोड ४० लाख र संस्थाको रु ५२ लाख गरी कुल रु एक करोड ९२ लाखको लागतमा खानेपानी ट्याङ्की र डिप बोरिङ निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिनुभयो । चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याक्की निर्माण भएसँगै देवचुली नगरपालिकाभित्रका १० देखि १५ नं गरी पाँच वडाका जनता लाभान्वित हुनेछन् ।

October 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *