जनता टाइम्स

१ भाद्र २०७७, सोमबार १७:५०

उपत्यकामा एकै दिन थपिए १६८ जना कोरोना संक्रमित


काठमाडौं, भदौं १ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा काठमाडौंमा १ सय ३९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । लकडाउन खुला गरेपछि काठमाडौं उपत्यकामा लगातार रुपमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका थपिएका ५ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जानकारी दिनुभयो ।

संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ७ जनाको ज्यान गएको मन्त्रालयको भनाई छ ।