जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार ०७:०६

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने


काठमाडौं, १४ जेठ। भारतमा सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनताका पार्टीका संसदीय दलका नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहि विहीवार पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन दिल्ली जानु हुने भएको छ ।

मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रण दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भएको र सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनाएको छ ।

सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहण गर्नुभएको थियो । मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार स्थानीय समयानुसार साँझ ७ बजे मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ । मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।