जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १३:५३

कुलमान घिसिङको पुनर्नियुक्ति हुने नेकपा प्रवक्ताको घोषणा


काठमाडौं, भदौ २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने घोषणा गर्नुभएको छ ।

आफ्नो चार बर्षे कार्यकाल सकाएर आइतवार मात्रै बिदा हुनुभएका घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने घोषणा गर्नुभएको हो । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु,’ प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद बैठक बोलाउनु भएको जानकारी पाउन साथ प्रवक्ता श्रेष्ठले यस्तो ट्वीट गर्नुभएको हो । पछिल्लो समय प्रधानमन्त्रीको हवाला दिँदै उर्जामन्त्री बर्षमान पुनको स्वकीय सचिवालयले घिसिङको पुनर्नियुक्तिको निर्णय भइसकेको भन्दै बिभिन्न मिडियामा अफवाह फैलाएको थियो । उर्जा मन्त्रालयले नै प्रस्ताव नल्याएपछि घिसिङ चार बर्षे पदाधवी सकाएर हिजो आइवतार प्राधिकरणबाट बिदा हुनुभएको थियो ।०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।