जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार २१:२०

कोरोनालाई खेलाँची नठान्न सरकारको सुझाव


काठमाडौं, भदौ ३० । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताउनुभयो । “दैनिक हजारको सङ्ख्यामा सङ्क्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन”, मन्त्री ज्ञवालीले भन्नुुभयो, “अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड –१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।”

नेपालमा अहिलेसम्म कोभिड –१९ को सङ्क्रमण ५६ हजार ७८८ जनामा देखिएको छ । यस्तै ३७१ जना सङ्क्रमणबाट निधन भइसकेका छन् । केही सञ्चारमाध्यममा कोभिड –१९ को सङ्क्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताउनुभयो । उहाँले सञ्चालनमा रहेका क्षेत्रका सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि आग्रह गर्नुभयो ।

असोज १ देखि होटल व्यवसाय सञ्चालन

सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण्टुरेन्ट, पदयात्रा र ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने बताउनुभयो । उनीहरुले स्वास्थ्य तथा सुरक्षाको पालना गरेनगरेको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ ।

यस्तै नेपालमा सञ्चालित विभिन्न विकास आयोजनामा प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि अनुमति खुला गरिएको छ । त्यसका लागि त्यस्ता जनशक्तिले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ । यस्तै विद्यालयमा विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न नसकिने अवस्थामा दूर र वैकल्पिक शिक्षाका माध्यमबाट शिक्षण र सिकाइलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ ।
सरकारले शैक्षिक संस्था, परीक्षा, सेमिनार, गोष्ठी, सिनेमा हल, डान्सबार, सैलुन, स्विमिङ पुल, समूहमा खेलिने खेल, धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना जस्ता बढी भीड हुने क्षेत्र भने अझै बन्द गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताउनुभयो । अर्को निर्णय गरेपछि मात्र यी क्षेत्र खुला गरिने छ ।