Untitled Document

राष्ट्रपति ट्रम्पका छोराले रुससँग भएका इमेल श्रृंखला सार्वजनिक गरेपछि अमेरिकामा खैलावैला

न्यूयोर्क, असार २९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल गत मङ्गलबार सार्वजनिक गरेका हुन ।

सार्वजनिक भएका ती मेलमा एकजना रुसी वकिलसँग निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका थिए । उनको सो प्रस्तावलाई राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन । उक्त इमेलको जवाफमा राष्ट्रपति ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै लाभदायक र खुसीको कुरा हुने बताएका छन् । त्यसपछि ती रुसी अधिकारीले ती मेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताउनुभएको छ ।

गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखएिको छ । राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गर्नुभएको पनि सो समाचारमा जनाइएको छ । सो इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन ।

इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् । सार्वजनिक भएलगत्तै यतिबेला इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशिल भएको पनि बताएका छन् । इमेलहरुबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उहाँलाई बिजयी गराउनका लागि सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ ।

यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ । यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ ।

२९ असार २०७४, बिहीबार ११:१५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *