Untitled Document

एनसेलको पूजीगत लाभकर सम्वन्धि सम्पूर्ण कागजपत्र पेश गर्न सरकारलाई लेखाको निर्देशन, २ महिनाभित्र असुल गर्न निर्देश

काठमाडौं, असार २९ – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलको पूजीगत लाभकर सम्वन्धि सम्पूर्ण कागजपत्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको आज सिहदरवारमा बसेको बैठकले २ महिना भित्र पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराउदै सम्पूर्ण कागजपत्र बुझाउन निर्देशन दिएको हो ।

समितिले एनसेलको कर निर्धारण गर्ने निकाय, कर निर्धारण गर्नुपर्ने समय, निर्धारण गरेको कर असुल नगर्ने व्यक्तिको विवरण मागेको हो । समितिका सभापति डोरप्रसाद उपाध्यायले एनसेल कम्पनीको हालसम्मको सेयर खरिद विक्रीको सम्पूर्ण विवरण समितिमा बुझाउन पनि सरकारलाई निर्देशन दिनुभयो । समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, पुँजीगत खर्च बढाउन र असारे विकास रोक्न पनि समितिले निर्देशन दिएको छ । समितिले वैदेशिक भ्रमण धेरै भएकाले भ्रमणको विवरण पेश गर्न प्रधानमन्त्रीको कार्यालय र अर्थलाई निर्देशन समेत दिएको छ । आजको बैठकमा बोल्ने १२ जना सभासद्ले केही नेता र कर्मचारीको मिलेमतोमा छुट दिने तयारी भएको भन्दै कर असुल्नुपर्ने माग गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले कर असुली गर्न सम्बन्धित निकायका पदाधिकारीहरुलाई जिम्मेवारी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

एनसेलले अहिलेसम्म २३ अर्ब ५६ करोडमात्रै कर दाखिला गरेको छ । तर, एनसेलसँग ६१ अर्ब लाभकर निर्धारण गरिएको छ । एनसेलले पहिलो चरणमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ र दोस्रो चरणमा १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको थियो ।

२९ असार २०७४, बिहीबार १५:१०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *