जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १४:२२

उपराष्ट्रपति पुनले भियनामा नेपाली समुदायसंग अन्तक्रिया गर्दै भ्रमण वर्षको प्रचार गर्न आग्रह


भियना, जेठ १५

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ । स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्नुहुँदै नेपालको समृद्धिको यात्रामा विदेशमा बसोबास गर्ने नेपाली समुदायले योगदान दिनुपर्ने बताउनुभयो । उहाँले विदेशमा बस्दा कमाएको पूँजी, सिकेको सिपलाई नेपालको विकास प्रक्रियामा प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘नेपाल समृद्धिको अभियानमा छ । यो अभियान सफल पार्न देश तथा विदेशमा बस्ने सबै नेपालीहरुको भूमिका हुनुपर्दछ’, उहाँले भन्नुभयो, ‘नेपालमा लगानीको प्रशस्त सम्भावना छ । तपाईंहरु ठूलो पूँजी हुनेले एकल लगानी गर्नुस्, साना पूँजी हुनेले सामुहिक लगानी गर्नुस् । यसबाट नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनेछ ।’

उपराष्ट्रपतिले नेपालमा आएको राजनीतिक परिवर्तनप्रति गौरव गर्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । ‘नेपालको परिवर्तनप्रति कसैले चित्त दुखाउनु पर्दैन । प्राप्त परिवर्तनप्रति गौरव गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘हाम्रो संविधान विश्वकै उत्कृष्ट छ । कसैलाई त्तित नबुझे संविधान भित्रै रहेर छलफल गरौँ ।’

उपराष्ट्रपतिले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको बताउनुुहुँदै त्यस बारे प्रचार प्रसार गर्न यहाँका नेपाली समुदायलाई आग्रह समेत गर्नुभयो । ‘तपाईंहरुले विदेशी समुदायमा नेपालको बारेमा सकारात्मक सन्देश दिनुहोस् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ । यसको प्रचार प्रसार गर्न सहयोग गर्नुहोस्’, उहाँले भन्नुभयो ।

‘समृद्ध नेपाल सरकारको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सरकार, नीजि क्षेत्र र स्वदेश तथा विदेशमा रहने सबै नेपालीको योगदान हुनुपर्दछ,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘यदि आम जनताको सहभागीता र अपनत्व भएन भने हामीले प्राप्त गर्ने समृद्धि दिगो हुँदैन । तपाईंहरुले जसरी नेपाल फर्कने वातावरण बन्नु पर्यो भनिरहनु भएको छ । यो छिट्टै तयार हुन्छ ।’

कार्यक्रममा गैर आवासीय नेपाली संघ, अष्ट्रियाका अध्यक्ष जीवन जंग कुवरले विदेशमा रहेको नेपालीहरुले विभिन्न कठिनाई भोगिरहेको र सकेसम्म स्वदेश फर्कन चाहिरहेको बताउनुभयो । ‘हामी नेपालीहरु विभिन्न कारणले विदेशमा आएर दुःख गरिरहेका छौँ । हामी स्वदेश फर्कन चाहन्छौँ, नेपाल सरकारले त्यो वातावरण बनाओस्,’ उहाँले भन्नुभयो ।