जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १४:३८

आयोग पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन : लोभ-लालचामा नपर्नु होला


काठमाडौं, जेठ १५

सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ लिएका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गर्नुभएको हो । आयोग अध्यक्ष भट्टराईलाई सर्वोच्च अदालतमा नै प्रधानन्यायधीश राणाले सपथ ग्रहण गराउनु भएको थियो ।

आफूले शपथ लिएलगत्तै अध्यक्ष भट्टराईले सदस्यहरु जानकी बल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यकक्षमा सपथ ग्रहण गराउनु भयो । सपथग्रहण समारोहमा मन्त्री पदमाकुमारी अर्याल, सचिव गोपीनाथ मैनाली लगायतको उपस्थिति गरेको थियो । सपथग्रहण समारोहमा बोल्दै मन्त्री अर्यालले लोभलालचामा नपर्न आयोगका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

‘जटिल र चुनौतीपूर्ण विषय छानविन गर्ने जिम्मा सरकारले तपाईहरुलाई सुम्पेको छ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यो चानुचुने कुरा होइन, लोभलालचामा नपर्नु होला, राष्ट्रको गहन जिम्मेवारी दिएको छ ।’ उहाँले आयोगले अतिक्रमित जग्गाको खोजविन गरी फिर्ता गराउने प्रतिवद्धता पनि जनाउनु भयो । सो अवसरा आयोग अध्यक्ष भट्टराईले भूमि र जग्गाको क्षेत्रमा रहेको विकृतिलाई टुङ्गोमा पुर्याउने सरकार र जनपेक्षा अनुरुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइदिन पनि सरकार, राजनीतिक दलसँग आग्रह गर्नुभयो । उहाँले आयोग काम कारवाही गोप्य हुने जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालय सचिव मैनालीले आयोगको जिम्मेवारीको बारेमा जानकारी दिनुभएको थियो । मैनालीका अनुसार सरकारी, सार्वजनिक अतिक्रमणको खोजविन गर्ने, गुठीको जग्गाको छानविन, सरकारी, सार्वजनिक तथा गुठीको जग्गाको अभिलेख संरक्षण गर्न सुझाव दिने र जग्गा हिनामिनाको छानविन र कारवाहीको सिफारिस गर्ने रहेको छ ।