Untitled Document

कर फर्छ्यौट आयोगमार्फत ११ अर्ब भ्रष्टाचार भएको अख्तियारको निश्कर्ष, शुक्रवार मुद्दा दायर गरिदै

काठमाडौं, असार २९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्यौटआयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध करिब ११ अर्ब भ्रष्टाचार गरेको निश्कर्ष निकालेको छ । अख्तियारले अभियुक्त शर्मासहित तीन जनाले सो रकम बरावरको भ्रष्ताचार गरेको अभियोगसहित शुक्रवार विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

अख्तियार टोली मुद्दा दर्ताका लागि शर्मालाई लिएर बिहीवार विशेष अदालत पुगे पनि समय अभावका कारण दर्ता हुन नसकेपछि शुक्रवार दर्ता गर्ने भएको हो । बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई शुक्रबार अदालतमै उपस्थित गराउन आदेश दिएकाले अख्तियारले बिहीबार नै मुद्दा दर्ता गराउन चाहेको तर संभव नभएको स्रोतले बतायो । शर्मालाई शुक्रवार १० बजे अदालतमा उपस्थित गराउन आदेश दिइएको छ ।

‘आजै मुद्दा दर्ता गर्न खोजिएको थियो । तर, समय अभाव रहृयो । अहिलेसम्म भएको अनुसन्धानका आधारमा करिव ११ अर्ब भ्रष्टाचार गरेको निश्कर्ष हामीले निकालेका छौं,’ अख्तियारका एक अधिकारीले भने । कर फर्स्यौट आयोगमा परेका निवेदनहका आधारमा व्यवसायीलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएको भन्दै अख्तियारले शर्मालाई पक्राउ गरेको थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशकको हैसियतमा शर्मा आयोगको सदस्य सचिव रहनु भएको थियो । आयोगका अध्यक्ष महत र सदस्य ढकाल भने हालसम्म फरार रहेका छन ।

२९ असार २०७४, बिहीबार २०:४५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *