जनता टाइम्स

११ आश्विन २०७७, आईतवार ११:२५

एसिड आक्रमण पीडितहरुको मुहारमा ओली सरकारले ल्याएको खुशी


काठमाडौं, असोज ११

‘हिजोसम्मको सामान्य जिवन, केही सेकेण्डको आक्रमणले गर्दा बाँकी रहेको जीवन तहसनहस बन्छ’,  यी लाइन एसिड आक्रमण पीडितहरुले जीवनमा भोग्नु परिरहेको कहाली लाग्दो भोगाई हो । सोच्दा मै त कति पीडा हुन्छ भने भोग्नेहरुको अवस्था के होला ?

यही पीडा बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पहलमा यस्ता पीडितहरुको जीवनमा केही भएपनि खुशी ल्याउने पहल गरिदिनु भएको छ । सरकारले एसिड आक्रमणविरुद्ध कडा कानून अध्यादेशमार्फत जारी गरेको छ । एडिड छ्यापेमात्रै पनि दश वर्ष र अनुहारमा परे २० वर्ष जेल सजाय र १० लाख रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ । जेल जीवनमा एक दिन पनि छुट नपाइने गरी कडा कानुन ल्याएको छ ।

यसैगरी, पीडितको उपचार, पढाई खर्च र रोजगारको ग्यारेन्टी सरकारले गर्ने भएको छ । गत साता तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ र फौजदारी कानून तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेर यी विषयहरु समेटेको छ । अध्यादेश जारी गरेपछि एसिड आक्रमण पीडितहरुले सरकारले गरेको व्यवस्थाबाट खुशी व्यक्त गरेका छन् । उनिहरुले सरकारले आफ्नो समस्या बुझिदिएको भन्दै धन्यवाद समेत दिएका छन् ।

सरकारी निर्णयलगत्तै महान्यायाधीवक्ता अग्नी खरेलले एक एसिड पीडित युवकलाई रोजगारी दिनु भएको छ । आफ्नै श्रीमतिबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै पारिश्रमिक गणना हुने गरी करारमा चालक नियुक्ति गर्नुभएको छ । यो कानुन बनाउन महान्यायाधीवक्ता खरेल पनि लाग्नु भएको थियो ।

सरकारी योजनामा नीजि क्षेत्रले पनि सहयोग गर्न शुरु गरेका छन् । कुमारी बैंकले पनि आक्रमणमा परेकी ३ युवतीलाई बैंकमा रोजगारी दिएको छ । हेटौंडाकी विन्दबासिनी कंसाकारलाई हेटौंडामा र काठमाडौं बस्दै आएका जेनी खड्का र संगीता मगरलाई यही स्थायी रोजगारीको व्यवस्था गरेको एसिड अपराध विरुद्ध क्रियाशिल उज्जवलविक्रम थापाले जानकारी दिनुभयो । तीनै जनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिन लागेको हो ।