जनता टाइम्स

११ आश्विन २०७७, आईतवार ११:४५

बाँके मेडिकल कलेजका कर्मचारीको कोरोनाबाट मृत्यु


नेपालगञ्ज, असोज ११

बाँकेमा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत एक कर्मचारीको कोहलपुर शिक्षण अस्पतालमा आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९, बाँके गाउँका ४७ बर्षिय संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ५ बजे मृत्यु भएको बताउनुभयो ।

सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि भदौ ३१ गते राती ८ः२५ बजे उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा भदौ २९ गते स्वाब संकलन गरिएको र भदौ ३१ गते कोरोना पुष्टि भएको थियो । मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया र मधुमेह लगायतका स्वास्थ्य समस्या रहेको थियो ।