जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार १५:५३

सरकार ‘बालमैंत्री नेपाल’ निर्माण अभियानमा जुटेको छ : मन्त्री गुरुङ


काठमाडौं, असोज १२

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकार ‘बालमैंत्री नेपाल’ निर्माण अभियानमा जुटेको बताउनुभएको छ । मन्त्री गुरुङले बालमैंत्री नेपाल निर्माणका लागि सरकारले १० वर्षे रणनीतिक योजना ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।

‘बालबालिका शान्ति क्षेत्र अभियान’ले आज काठमाडौंमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरुङले सबै स्थानीय तहलाई बालमैंत्री बनाउन गृह, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षालगायतका अन्तर मन्त्रालयसँग सहकार्यमा जोड दिइएको पनि स्पष्ट पार्नुभयो ।

‘अनाथ बालबालिकाहरुको राज्य अभिभावक बन्नुपर्छ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘त्यसका लागि अन्तर मन्त्रालयबीचको सहकार्यमा जोड दिइएको छ ।’ उहाँले अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुमाथि कडा निगरानी राख्नुपरेको पनि बताउनुभयो ।

बालबालिकाको नाममा केही संस्थाहरुले गलत क्रियाकलाप गरिरहेको पाइएपछि त्यस्ता गतिविधि हुन नदिने गरी ती संस्थाहरुको अनुगमनको काममा सरकार केन्द्रित हुनु परेको मन्त्री गुरुङको भनाई छ । मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर काम गर्ने संघ, संस्थाहरुसँग सरकार अझ बढि सहकार्यका साथ काम गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै बाल अधिकारकर्मी गौरी प्रधानले बालबालिकालगायतका सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने अवधारणा अघि सार्नु भएको भन्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गर्नु भएको थियो ।