जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १२:०५

गोसाईंकुण्ड जाने पदमार्गमा चिटिक्क बन्यो रेलिङबार


रसुवा, असोज १४

प्रसिद्ध पर्यटकीय एवं पवित्र धार्मिक तीर्थस्थल गोसाईंकुण्ड पदमार्गमा नेपाली सेनाले रेलिङबार निर्माण गरेको छ । सो पदमार्गको बुद्ध मन्दिरदेखि गोसाईंकुण्डसम्मको भीरमा सेनाले रेलिङबार निर्माण गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रेलिङबार निर्माण सम्पन्न गरेको हो ।

सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत बुद्ध मन्दिरदेखि गोसाईंकुण्डसम्मको भीरमा रेलिङबार निर्माण गरिएको कालीजंग गणका प्रमुख सेनानी सविन्द्र नगरकोटीले बताउनुभयो । अप्ठेरो भीरको बाटोमा २.५८ किलोमिटर लामो पक्की रेलिङबार निर्माण गरिएको छ । त्यस्तै तीर्थयात्रीलाई विश्राम गर्न चोलाङपाटीमा ४० फिट लम्बाइ र २० फिट चौडाईको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनर्निर्माण र हेलिप्याड पनि निर्माण गरिएको छ ।

भत्केको बाटो मर्मत तथा गणेशगौंडा, बुद्ध मन्दिर र गोसाईंकुण्डमा विश्रामस्थल पनि निर्माण गरेको सेनाले जनाएको छ । रेलिङबार निर्माण भएपछि गोसाईंकुण्ड पुग्ने पर्यटक तथा तीर्थयात्रीलाई आवतजावत गर्न सहज भएको छ । सेनाले करीब ५० लाख रुपैयाँको लागतमा रेलिङबार निर्माण सम्पन्न गरेको हो ।

कालीजंग गणबाट १० लाख १२ हजार भन्दा बढी जनश्रमदान रहेको छ । लकडाउनका बाबजुत पनि सेनाले ८ महिनामा निर्माण सम्पन्न गरेको हो । रेलिङबार निर्माण भएको स्थान समुद्री सतहबाट ४ हजार २ सयदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ ।