जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १५:३३

५ वर्षमुनिका बालबालिकालाई मंसिर ११ र १२ मा भिटामिन ‘ए’ खुवाइने


काठमाडौं, असोज १४

नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले यसअघि कोरानाका निर्धारित समयभन्दा डेढ महिना ढिला भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएकाले औषधिको समय मिलानका लागि मंसिरमा सारीएको बताउनुभयो ।

उहाँले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमँगै जुकाको औषधि र पोषण तत्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको नाप लिइने बताउनुभयो । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ ।

पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइदै आएको छ । भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।

६ महिनादेखि ५ वर्षउमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनिकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।