जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १५:४०

तीन साता नबित्दै प्रधानमन्त्रीसँग फेरि रिसाए प्रचण्ड


काठमाडौं, असोज १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फेरि रुष्ट बन्नुभएको पाइएको छ । सरकारले अमेरिका र बेलायतका लागि राजदुत नियुक्तिका लागि सिफारिश गर्नुका साथै मुख्यसचिव नियुक्त गरेपछि अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदुत नियुक्तिको लागि सिफारिश गरेको थियो । यस्तै बैठकले मुख्यसचिवमा परराष्ट्र सचिव लोकदर्शन रेग्मी नियुक्त गर्ने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले आफूसँग सल्लाह नगरेको र आफ्नो मान्छे नपारेको भन्दै असन्तुष्टि जनाउनु भएको भन्दै सचिवालयका सदस्यहरुले समाचार लेखाएका हुन ।

अध्यक्ष प्रचण्डका सचिवालय सदस्यहरुले आफू निकट मिडिया सञ्चालक र पत्रकारलाई उपलब्ध गराई प्रकाशित गराएको समाचारअनुसार मन्त्रिपरिषद बैठकपछि प्रचण्डले प्रधानमन्त्रीसँग आजको भेटबार्तासमेत अनिश्चित बनेको छ । सचिवालयका अनुसार प्रचण्डले आज बसेको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाकाका लागि राजदूत सिफारिस गरेकामा प्रचण्डले असन्तुष्टि जनाउनु भएको छ ।

‘सरसल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्रीबाट त्यसो हुन सकेन । त्यसैले आज हुने भनिएको भेटवार्ता नै अनिश्चित बनेको छ । बेलुकीसम्म नयाँ कुरा आएमा भेटवार्ता सम्भव होला । तर, सम्भावना झन्झन कमजोर बन्न थालेको छ,’ प्रचण्डका सचिवालयका सदस्यहरुले आफू निकट मिडियालाई पठाएको सूचना उल्लेख गर्दै एक पत्रकारले जनताटाइम्ससँग भने । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा केही दिनयता नियमित छलफल भइरहे पनि सहमति हुन सकेको छैन ।

अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा रहेका सवै सदस्यमाथि बदलाभाव राखी हटाउनु पर्ने प्रस्ताव गर्नुभएपछि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली झस्कनु भएको छ । प्रचण्डको प्रस्तावलाई मान्न नसक्ने जनाउ दिनुभएका प्रधानमन्त्री ओलीले ६ जना मात्रै मन्त्री थप्ने र हाल कायम रहेका कुनैपनि मन्त्री नहटाउने जवाफ दिनुभएको तथ्यलाई स्वयं अध्यक्ष प्रचण्डले नै सार्वजनिक गरिसक्नु भएको छ ।

स्थायी कमिटी बैठकले दुई अध्यक्षको स्पष्ट कार्यबिभाजन गरी प्रधानमन्त्री ओलीले सरकार र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय गरेपछि सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने गृहकार्यमा छलफल हुँदा प्रचण्डले सवै मन्त्री फिर्ता बोलाउने प्रस्ताव गर्नुभएको थियो । सरकारका सवै मन्त्री फिर्ता बोलाउने उहाँको प्रस्तावमा असहमति जनाई प्रधानमन्त्री ओलीले ६ जना मात्रै मन्त्री थप्ने जवाफ दिनुभएको हो ।